चीनमै सामाजिक दूरीको धज्जी उडाइयो, लकडाउनपछिको पहिलो विदामा हजारौंको भीड
काठमाडौं। कोरोनाभाइरसको उद्गम स्थल चीनमै सामाजिक दूरीको पालनामा बेवास्ता भएको देखिएको छ । लकडाउनपछिको पहिलो राष्ट्रिय विदामा यहाँ हजारौंको संख्यामा पर्यटकहरुल सामाजिक दूरीको बेवास्ता गर्दै सूर्योदयको दृश्य हेर्नको लागि एक ‘पावन’ पर्वतमा चढेका छन् । चीनका ५ महान पर्वतहरुमध्येको एक माउन्ट ताइमा चढ्ने बाटो १ मेका दिन बिहान ठूलो संख्यामा मानिसहरुका कारण जाम भएको एक भिडियोमा देखिएको छ ।
चीनका अन्य आकर्षक पर्यटकीय गन्तव्यहरुमा समेत यस्तै दृश्यहरु देखिएका थिए । तियानानमेन स्क्वायर र फर्बिडन सिटी लगायतमा लकडाउनपछिको पहिलो राष्ट्रिय विदाका दिन यस्तै भीडभाडयुक्त दृश्य देखिएको थियो । मे १ का दिन अन्तर्राष्ट्रिय मजदूर दिवसमा चीनमा राष्ट्रिय विदा थियो जुन कोरोनाभाइरसका कारण लकडाउन भएपछि चीनमा पहिलो सार्वजनिक विदा थियो ।
पूर्वी चीनको शाङडोङ प्रान्तमा रहेको माउन्ट ताइमा करिब ३० हजारको संख्यामा पर्यटकहरु चढेको भिडियो फुटेजमा देखिन्छ । उनीहरुले सरकारले दिएको सामाजिक दूरीको सल्लाहलाई बेवास्ता गरिरहेको देखिएको छ । कैयौं मानिसहरु यो पवित्र पर्वतमा सूर्योदयको पहिलो झलक हेर्नको लागि रातभर लाइनमा बसेका थिए । मे १ देखि चीनमा ५ दिनसम्म राष्ट्रिय विदा हुन्छ । यद्यपि अहिले यहाँ आउने पर्यटकहरुको संख्या गत वर्षको यही समयको तुलनामा ४० प्रतिशत कम हुने अपेक्षा गरिएको छ । यहाँ राष्ट्रिय विदा सुरु भएसँगै पर्यटनसँग सम्बन्धित बुकिङमा ठूलो उछाल आएको रिपोर्टमा जनाइएको छ ।
तियानानमेन स्क्वायरमा पनि बिहानै मानिसहरुको ठूलो भीड देखिएको थियो । यहाँ मानिसहरुले गार्ड अफ अनरले राष्ट्रिय झण्डा उठाएको हेरे जुन यहाँको परम्परागत सैन्य उत्सव अन्तर्गत पर्छ । पूर्वी चीनको शहर हाङझेउको प्रसिद्ध वेस्ट लेक तालमा पर्यटकको अत्याधिक भीड भएका कारण यहाँ जाने पर्यटकले एड्भान्समा टिकट बुकिङ गर्नुपरेको थियो । चीनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको चेङदु शहरको प्रसिद्ध ऐतिहासिक स्थल वाइड एण्ड न्यारो एलीले अत्याधिक भीड हुन नदिन एक दिनमा ७ हजार ५ सय जनाको सीमा तय गरेको थियो ।
Facebook Comment