कोरोना भाइरस नियन्त्रणका लागि स्वास्थ्य र रक्षालाई साढे ३ अर्व

डिसी नेपाल
२२ वैशाख २०७७ १६:०१

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले साढे ३ अर्व रुपैयाँ निकासा गरेको छ । सोमबार अर्थ समितिको बैठकमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य र रक्षा मन्त्रालयलाई उक्त रकम निकासा गरिएको जानकारी दिए ।

अर्थले स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयमार्फत उपकरण खरिदका लागि २ अर्ब ३४ करोड रुपैयाँ दिएको छ । बैठकमा मन्त्री खतिवडाले कोरोना रोकथाम र नियन्त्रणका लागि बजेट अभाव हुन नदिने पनि बताए ।
संघिय सरकारले निर्माण गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा दुई अर्व २० करोड रुपैयाँ जम्मा भएको र यसलाई आवश्यक्ता अनुसार खर्च गर्दै जाने मन्त्री खतिवडाले जानकारी दिए ।

मन्त्री खतिवडाले कोरोना संक्रमण रोक्न अन्तर्राष्ट्रिय सिमा बन्द गर्दा राजश्वमा दवाव परेको बताए ।

‘चालु वर्षको सुरुदेखि नै हामी अलिकति दबाबमा थियौँ, कोरोना रोकथामका लागि लकडाउन गरेपछि हामी झनै पछाडि परेका छौं’ उनले भने, ‘चैत मसान्तसम्ममा राजस्व लक्ष्यको ८० प्रतिशत मात्रै संकलन गर्न सफल भएको छौं ।’

भन्सारसँगै अन्तःशुल्क र मूल्यअभिवृद्धि करमा पनि दबाब परेको भन्दै खतिवडाले अन्तर्राष्ट्रिय सहायता परिचालनमा सरकारले जोड दिएको बताए ।

अहिलेसम्म सरकारले कोरोनासँग सम्बन्धित काममा खर्च गर्न र आर्थिक उत्थानका लागि डेढ खर्ब रुपैयाँ बराबरको रकम सम्झौता गरेको खतिवडाले जानकारी दिए ।

मन्त्री खतिवडाले सरकारी राहत दुरुपयोग रोक्नका लागि श्रमसँग जोडेको स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *