मध्यरातिदेखि कर्णाली प्रदेश सिल, नेपालगञ्ज निषेधित क्षेत्र घोषणा
काठमाडौँ । छिमेकी प्रदेशहरुमा कोरोनाको संक्रमण बढ्दै गएपछि कर्णाली प्रदेश मध्यरातिदेखि ७ दिनका लागि सिल भएको छ ।
कर्णाली प्रदेश सरकारले सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमणबढ्दै गएपछि सोमबार राति १२ बजे देखि कर्णाली प्रदेश ७ दिनका लागि सिल गरेको हो ।
सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सुदूरपश्चिम र प्रदेश ५ मा कोरोना संक्रमण देखिएपछि कर्णाली प्रदेश ७ दिनका लागि सिल गर्ने निर्णय गरेको थियो ।
कर्णाली सरकारका अनुसार प्रदेशका २७ स्थानमा चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली खटाइएको छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिकालाई ३ दिनका लागि निषेधित क्षेत्र घोषणा गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकले आज वैशाख २३ गते बिहान ११ देखि २५ गते मध्यरातसम्मका लागि पूर्ण रुपले निषेधित क्षेत्र कार्यान्वयन गर्ने निर्णय गरेको जिप्रकाले जनाएको छ ।
बैठकले सब्जीमण्डीलाई अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले सुरक्षा र स्वास्थ्यकर्मी तथा स्वाब संकलन गर्ने र कन्ट्रयाक्ट ट्रेसिङका जनशक्तिबाहेक अन्यलाई आवागमनमा पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ।
Facebook Comment