गभर्नर अधिकारीको सम्पती विवरणः १० स्थानमा जग्गा, विभिन्न कम्पनीमा शेयर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा तथा विभिन्न कम्पनीको शेयरमा लगानी गरेको पाइएको छ । उनले मंगलबार सम्पत्ति विवरण सार्वजनिक गर्दै आफ्नो र श्रीमतीको नाममा विभिन्न १० स्थानमा घर जग्गा रहेको र विभिन्न कम्पनीमा शेयर लगानी रहेको उल्लेख गरेका छन् ।
सम्पती विवरणमा साबिकको सैंबु गाविसमा उनीसँग २७ आना ३ पैसा २ दाम जग्गा र त्यसमा घर रहेको उल्लेख गरेका छन् । उक्त जग्गाको लागत १७ लाख रहेको र विराटनगरको घरजग्जा बिक्री, सापटी र बचतबाट किनेको उल्लेख गरेका छन् । ललितपुरको छप्पीमा ४ रोपनी १० आना, २ रोपनी १५ आना र २ रोपनी ६ आना जग्गा छ । उक्त जग्गाको लागत ९० लाख ९७ हजार रहेको र अवकास हुँदा प्राप्त रकमबाट जोडेको उल्लेख गरेका छन् । यसबाहेक झापाको सुरुङ्गा र मकवानपुरको हेटौडामा पनि उनको जग्गा छ । झापाको जग्गा अंशवापत प्राप्त भएको र हेटौटाको जग्गा बचतबाट खरिद गरेको उल्लेख गरिएको छ ।
यसैगरी गभर्नर अधिकारीको नामा माछापुच्छ्रे बैंकमा १ लाख ६३ हजार ७६२ रुपैयाँ, नबिलमा २ हजार ३०२ अमेरिकी डलर र नागरिक लगानी कोषमा १२ लाख २४ हजार ६०० रुपैयाँ बचत रहेको छ । उनीसँग दुई वटा मोटरसाइकल र एउटा टोयोटा कारका साथै १४ लाख १० हजार रुपैयाँ बराबरको टिभी, फ्रिज, वासिङ मेसिन, कम्प्युटर, प्लेयर, फोन सेट, एसी, आइप्याड, सोफा सेटलगायतका सामान रहेको सम्पती विवरणमा उल्लेख छ । यस्तै २७ तोला सुनका गहना छन् भने ५० तोला चाँदीका गहना छन् । उनले ५९ लाख रुपैयाँ ऋण दिएका छन् भने ८ लाख १९ हजार ६०० रुपैयाँ नागरिक लगानी कोषबाट ऋण लिएका छन् ।
गभर्नर अधिकारीसँग विभिन्न कम्पनीमा एक करोड रुपैयाँ भन्दा बढिको सेयर लगानी रहेको छ । नेपाल फिल्म, बाँसबारी लेदरेज, हरिसिद्धि इँटा र ज्योति स्पिनिङलगायत औद्योगिक क्षेत्रका कम्पनीको ११ सय कित्ता सेयर छ । यस्तै नबिल, हिमालयन, सिद्धार्थ, बैंक अफ काठमाण्डू, सनराइज, एभरेष्ट, मेगा, नेपाल इन्भेष्टमेन्ट, एनएमबी, ग्लोबल आइएमइ, एनआइसी एसिया, मेरो माइक्रो फाइनान्स, नागरिक लगानी कोष, प्रिमियर इन्स्योरेन्सको २७ हजार १८४ कित्ता सेयर छ ।
यसको लागत मूल्यांकन ४८ लाख ३७ हजार ३९० रुपैयाँ हुने उल्लेख गरिएको छ । यस्तै नबिल ब्यालेन्स फण्ड–२ मा १८ लाखका साथै दोस्रो बजारबाट चिलिमे, एचआइडीसिएल, सानिमा माइ, अपर तामाकोशीको २७ हजार ९२९ कित्ता सेयर किनेका छन् । यसको लागत ४० लाख १७ हजार ५०० रुपैयाँ रहेको विवरणमा उल्लेख छ ।
गभर्नर नियुक्त भएको एक महिनाभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने कानुनी ब्यवस्था अनुसार अधिकारीले विवरण सार्वजनिक गरेका हुन् ।
Facebook Comment