नेकपा स्थायी कमिटीको बैठक बोलाउन २० सदस्यले गरे पुनः माग

डिसी नेपाल
२५ वैशाख २०७७ १९:१७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यथाशिघ्र गराउन २० जना जसदस्यहरुले पुनः माग गरेका छन् । आज (बुधबार) बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएपछि र अर्को बैठकको लागि मिति पनि सार्वजनिक नभएपछि आज पार्टी कार्यालय धुम्बारहीमा २० जना सदस्यले पुनः पार्टी नेतृत्वलाई बैठकको लागि ध्यानाकर्षण गर्ने निर्णय गरेका हुन् ।

‘नेतृत्व पार्टीको विधानअनुसार चल्न नसकेका कारण र सरकारलाई खबरदारी गर्न स्थायी कमिटी बैठकको माग गरेका हौं।’ डिसी नेपालसँग कुरा गर्दै नेकपा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले भने, ‘पार्टीको विधानमा एक व्यक्ति एक पदको स्पस्ट धारणा हुँदा पनि अन्यायपूर्ण कार्यविभाजन भएको छ। साथै, पार्टीको निर्णय बिना नै सरकारले अध्यादेश ल्याउने जस्ता काम गरेकाले पनि स्थायी कमिटी बैठक आवश्यक भएको हो।’

‘सरकारका कामको समीक्षा गर्न पनि स्थायी कमिटीको बैठक आवश्यक हो।’ ज्ञवालीले भने, ‘प्रधानमन्त्रीको राजीनामाको माग पनि उठ्न सक्छ, अध्यक्ष छोड्नु पर्ने पनि हुनसक्छ । स्थायी कमिटीका कुन सदस्यको मनमा के कुरा लागेको छ सबै कुरा गर्न पाउने ठाउँ भनेको स्थायी कमिटी नै हो त्यसैले पनि हामीले स्थायी कमिटीको माग गरेका हौं। केही कुरा सार्वजनिक स्थानमा बोल्न पनि नमिल्ने भएकाले स्थायी कमिटीको बैठक जरुरी छ र यो यथाशिघ्र हुन जरुरी छ।’

पार्टीभित्रै प्रधानमन्त्रीको राजीनामाका लागि माग उठ्दै आएको छ । सरकार मनपरि चलेको भन्दै १५ दिनअगाडि २० जना स्थायी कमिटी सदस्यहरुले हस्ताक्षर संकलन गरी बैठकको माग गरेका थिए ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाले बिहीबार एकदुई दिनमा स्थायी कमिटीको बैठक बस्ने आश्वासन दिएका छन् । बुधबार बसेको सचिवालय बैठकले एजेण्डा तय गर्न नसकेपछि स्थायी कमिटीको बैठक स्थगित भएको थियो ।

बुधबारको सचिवालय बैठकबाट प्रधानमन्त्री उठेर हिडेपछि बैठकनै प्रभावित भएको थियो । कतिपय नेताहरुले प्रधानमन्त्री स्थायी कमिटीको बैठकमा अल्पमतमा पर्ने भएकाले बैठक बोलाउनै नचाहेको समेत बताउँदै आएका छन् ।

सरकारले राजनीतिक दल सम्बन्धी संशोधन अध्यादेश, र संवैधानिक निकाय (काम, कर्तव्य र अधिकार) सम्बन्धी संशोधन अध्यादेश जारी गरेपछि सहतमा आएको विवाद अझै कम हुन सकेको छैन् ।

वैशाख २० गते बसेको सचिवालय वैठकमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आत्माआलोचना गरेर बामदेव गौतमलाई प्रतिनिधिसभाको सदस्य बनाउने प्रस्ताव गरेपछि कम भयो भनिएको पार्टी भित्रको विवाद २४ गते बसेको सचिवालय बैठकबाट पुनः बल्झिएको छ ।

सचिवालय वैठकबाट प्रधानमन्त्री ओली निस्कनुले आज (बुधबार) वैशाख २५ गते बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको थियो । एजेण्डा तय गर्न नसकेका कारण स्थगित भएको भनिएको स्थायी कमिटीको बैठकको अर्को मिति तयार नभएपछि २० जना सदस्यहरुले पुनः खबरदारी गर्ने निर्णय गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *