इराकका पूर्व गुप्तचर प्रमुख प्रधानमन्त्रीमा निर्वाचित
बग्दाद । इराकका पूर्व गुप्तचर प्रमुख मुस्तफा खादिमी नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । अमेरिका पक्षीय मानिने खादिमीलाई इराकको संसदले बिहीबार प्रधानमन्त्रीमा निर्वाचित गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।
अमेरिकाको न्युयोर्क टाईम्सले पनि खादिमीको सम्वन्ध अमेरिकासँग धेरै राम्रो रहेको र उनी क्षमतावान व्यक्ति भएको जनाएको छ । तत्कालिन प्रधानमन्त्री अदेल अब्दुल मेहदीले राजिनामा दिएपछि लामो समयपछि उनि प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
इराकमा लामो समयदेखि कामचलाउ प्रधानमन्त्रीको भरमा सरकार सञ्चालन भइरहेको थियो भने सरकार विरोधी प्रदर्शनहरु पनि भइरहेका थिए । प्रदर्शनकारीहरुले रोजगारी र सुशासनको माग गरेका थिए । उनीहरुले भ्रष्टाचार अन्त्य गर्न र सरकारका काम कारबाही राम्रो बनाउन आग्रह गर्दै आएका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि खादिमीले इराकको सुरक्षा, समृृद्धि र उत्थानका लागि संसदले आफुलाई प्रधानमन्त्रीमा निर्वाचित गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटर मार्फत् उनले सवैभन्दा पहिलो प्राथमिकता कोरोनाभाइरसविरुद्धको लडाईँ हुने पनि उल्लेख गरेका छन् ।
Facebook Comment