वर्तमान सरकार सदैव श्रमजीवि जनताको पक्षमा : मन्त्री विष्ट

डिसी नेपाल
१३ असोज २०७५ १३:१०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वर्तमान सरकार सदैव श्रमजीवि जनताको पक्षमा रहेको बताएका छन्।

नेपाल इलेक्ट्रिसियन सङ्घको नवौँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले विद्युतीय क्षेत्रमा काम गर्ने श्रमिकले अत्यन्त ठूलो जोखिम बहन गरेर काम गर्नुपर्ने भएकाले ती श्रमिकको सुरक्षा र स्वास्थ्यमा सरकारले यथोचित ध्यान दिने बताए।

मन्त्री विष्टले इलेक्ट्रिसियनले प्राप्त गर्ने सेवा, सुविधा र ज्याला तोकिएबमोजिम कार्यान्वयन नभए सरकारले कडाईका साथ लागू गर्ने बताए। उनले भने, ‘सरकारले श्रमिक वर्गको अधिकारको रक्षा गर्नेछ, इलेक्ट्रिसियनको सुरक्षा गर्नेछ।’

बढ्दो शहरीकरणसँगै यस क्षेत्रका प्राविधिकको माग बढ्दै जाने हुँदा धेरै सङ्ख्यामा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै उनले पूराना जनशक्तिलाई दक्ष बनाएर अद्यावधिक गरिनुपर्ने बताए।

गरीबी, अभाव र बेरोजगारी व्यहोरेको देशलाई सम्पन्न मुलुकका रुपमा परिणत गर्न सीपयुक्त दक्ष जनशक्तिको योगदानको आवश्यकता रहेको भन्दै उनले भने, ‘हामी देशलाई आफ्नै पौरखले बदल्न चाहेका छौँ, जिन्दगीलाई आफ्नै मेहनतले सिगार्न चाहेका छौँ, समाज र देशलाई बदल्नका लागि कर्ममा विश्वास गर्दछौँ, कर्ममार्फत नै हाम्रो भविश्य बदल्छौँ, देश बदल्छौँ।’

नेपालीका पौरखी हातले मरभूमिलाई हरियालीमा रुपान्तरण गर्नका लागि सफल भएको बताउँदै नेपालमै श्रम गर्ने पौरखी हात नयाँ नेपाल निर्माणका लागि पनि सफल हुने विश्वास व्यक्त गरे।

इलेक्ट्रिसियनले श्रमप्रति सम्मान जगाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो। उनले भने, ‘नेपालमा कामलाई सम्मान गर्ने संस्कृति अझै पनि हुर्किन सकेको छैन्, इलेक्ट्रिसियनले सीप सिकेर जोखिम मोल्दै प्रदान गर्नुभएको सेवाले काम गर्नेहरुका लागि नेपालमा पर्याप्त अवसर छ भन्ने पुष्टि गरेको छ।’

नेपाल विकासको प्रारम्भिक चरणमा रहेको बताउँदै उनले विकासका धेरै क्षेत्रलाई आधुनिक र नयाँ ढङ्गबाट लैजानुपर्ने उल्लेख गरे। मन्त्री विष्टले भने, ‘२१औँ शताब्दी र दुनियाँको विकाससँग नेपालको विकासलाई पनि समसामयिक बनाउन पर्याप्त पूर्वाधार निर्माण गर्नुपर्ने छ, भौतिक पूर्वाधारका क्षेत्रमा पर्याप्त ध्यान दिनुपर्ने छ, पूर्वाधार जति धेरै निर्माण भए, त्यतिनै रोजगारी सिर्जना हुनेछ।नेपालभित्रै कामको अवसर प्राप्त हुनेछ।’

इलेक्ट्रिसियनले सिकेका सीपलाई नयाँनयाँ संरचनासँग मेल खानेगरी अद्यावधिक गर्न जरुरी भएको औल्याउँदै उनले आफूले सिकेको सीपलाई वर्गीकरण गरी कामको अवसर प्राप्त हुने व्यवस्था मिलाउन आवश्यक भएको बताए।

उनले भने , ‘हाम्रो सीप, पाठ्यक्रमलाई वर्तमानको विकास र आवश्यकता, विज्ञान र प्रविधिको तीव्र विकाससँगै अद्यावधिक गर्नु जरुरी छ। नयाँ नयाँ प्रविधिको विकाससँगै सीप मेल नखान सक्छ, सीप, दक्षता र तालीमलाई परिमार्जित गर्नुपर्छ।’

सङ्घका अध्यक्ष भीमलाल श्रेष्ठले इलेक्ट्रिसियनको सीप तथा दक्षता अभिवृद्धि र पेशागत हकहितका विषयलाई सङ्घले प्रमुखताका साथ उठाएको बताए। सो अवसरमा मन्त्री विष्टले नवौँ वार्षिक साधारणसभाका अवसरमा प्रकाशन गरेको स्मारिक ‘इलेक्ट्रिसियन’ को विमोचन गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *