कोरोना भाइरसः युरोपेली सङ्घमा आबद्ध देशमध्ये इटलीमा सबैभन्दा धेरैको मृत्यु
बीबीसी । युरोपेली सङ्घमा आबद्ध मुलुकहरूमध्ये कोरोनाभाइरसबाट ३० हजारभन्दा बढी मृत्यु हुने पहिलो देश इटली बनेको छ।
शुक्रवार थप २४३ जना व्यक्तिको ज्यान गएको छ जुन अघिल्लो दिनको भन्दा ३२ जनाले कम हो।
पछिल्लो मृत्युसँगै त्यहाँ कोरोनाभाइरसबाट ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या ३०,२०१ पुगेको छ। केही दिनअघि इटलीलाई उछिन्दै युरोपमा सबैभन्दा बढी मृत्यु हुने देश यूके बनेको थियो।
‘टाइम बम’
इटलीमा दैनिक देखिने नयाँ सङ्क्रमितको सङ्ख्या थोरैले कम भएर शुक्रवार १,३२७ जनामा सङ्क्रमण देखियो। योसँगै त्यहाँ हालसम्म कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिहरूको सङ्ख्या २,१७,१८५ पुगेको छ।
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि चालिएका कदमहरूलाई खुकुलो पार्न शुरू गरिएको छ। तर स्थानीय सञ्चारमाध्यमहरूका अनुसार चिकित्सकहरूले मिलान शहरलाई “टाइम बम”को सङ्ज्ञा दिएका छन्।
आधिकारिक मृतक सङ्ख्याका आधारमा इटलीमा कोरोनाभाइरसबाट विश्वकै तेस्रो बढी मृत्यु भएको छ। पहिलो स्थानमा संयुक्त राज्य अमेरिका छ भने दोस्रो स्थानमा यूके छ जुन हाल युरोपेली सङ्घमा आबद्ध छैन।
बुधवार ब्रिटेनमा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको सङ्ख्या ३० हजार नाघेको थियो। युरोपका नराम्ररी प्रभावित देशहरूमध्ये स्पेन तेस्रो स्थानमा छ जहाँ कोरोनाभाइरसबाट २६ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ।
कडाइ
फेब्रुअरीमा देशका उत्तरी क्षेत्रहरूमा कोरोनाभाइरस सङ्क्रमणका घटनाहरू देखिन थालेपछि लकडाउन लागु गर्ने इटली युरोपको पहिलो मुलुक बनेको थियो।
लकडाउनका केही उपायहरू हटाइएका छन्। यो साता सामाजिक दूरी कायम राख्दै र मास्क लगाउँदै पहिलो पटक कैयौँ हप्तापछि त्यहाँका नागरिकले शारीरिक व्यायाम गर्न पाए।
उनीहरूले आफन्तलाई भेट्न पाए। त्यसमा साथी चाहिँ परेनन्। क्याथोलिक गिर्जाघरहरूले पनि मे १८ तारखिमा सामूहिक प्रार्थना शुरू गर्ने तयारी गरिरहेका छन्। तर सामाजिक दूरीसम्बन्धी कडा नियमहरू पालना गर्नुपर्ने हुन्छ र मास्क लगाउनैपर्छ।
Facebook Comment