डा. एन्थोनी फाउसीसहित अमेरिकाका तीन ठूला स्वास्थ्य निकायका प्रमुखहरु नै आइसोलेसनमा !
काडमाडौं। अमेरिकाका संक्रामक रोगसम्बन्धि सबैभन्दा बरिष्ठ डाक्टर एन्थोनी फाउसी नै आइसोलेसनमा पुगेका छन् । अमेरिकाको नेशनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजका निर्देशक डा. फाउसीले आफू २ हप्ताको लागि मोडिफाइड क्वारेन्टाइनमा बस्न लागेको बताएको सीएनएनले लेखेको छ । डा. फाउसी ह्वाइट हाउस कोरोना टाक फोर्सका पनि सदस्य हुन् । डा. फाउसी कोरोनाभाइरस पोजेटिभ देखिएका ह्वाइट हाउसका स्टाफको सम्पर्कमा आएका थिए ।
यद्यपि डा. फाउसीले आफू ती स्टाफसँग ‘लो रिस्क कन्ट्याक्ट’मा आएको बताएका छन् जसको अर्थ उनी ती संक्रमितसँग सीधा सम्पर्कमा थिएनन् यद्यपि उनी संक्रमित व्यक्तिको केही दूरीमा भने थिए । डा. फाउसीसँगै अमेरिकाको फुट एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)का कमिश्नर डा. स्टेफेन हान तथा सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)का निर्देशक डा. रोबर्ट रेडफिल्ड पनि आइसोलेसनमा बस्नेछन् । उनीहरु पनि संक्रमितको सम्पर्कमा आएका थिए ।
एफडिए प्रमुख डा. हान भने पोजेटिभ टेस्ट गरिएका एक व्यक्तिको सीधा सम्पर्कमै आएका थिए । सीडीसी प्रमुख डा. रेडफिल्डपनि ह्वाइट हाउसमा पोजेटिभ व्यक्तिको सम्पर्कमा आएको र सेल्फ क्वारेन्टाइनमा बस्ने सीडीसीका प्रवक्ताले सीएनएनलाई बताएका छन् । यी तीनै जना शीर्ष स्वास्थ्य अधिकारीहरु ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सका सदस्य हुन् । यी अधिकारीहरु सम्पर्कमा आएका संक्रमितबारे केही खुलाइएको छैन यद्यपि उपराष्ट्रपति माइक पेन्सेकी सेक्रेटरी केटी मिलर शुक्रबार पोजेटिभ देखिएकी छिन् र उनी प्रायः ह्वाइट हाउस कोरोनाभाइरस टास्क फोर्सको बैठकमा उपस्थित हुन्थिन् ।
Facebook Comment