जोखिम उठाएर स्वस्थ व्यक्तिहरुलाई कोरोनाभाइरस संक्रमित गरिँदै, डब्लुएचओले दियो अनुमति
काठमाडौं। विश्व स्वास्थ्य संगठनले स्वस्थ व्यक्तिलाई कोरोनाभाइरसबाट संक्रमित गरेर भ्याक्सिन विकसित गर्ने विवादित ट्रायललाई अनुमति दिएको छ । यस क्रममा स्वयंसेवकको रुपमा भाइरसबाट संक्रमित हुनेहरु गम्भीर रुपमा बिरामी हुने खतरा कायमै रहने भएकोले यो ट्रायल विवादित छ । यद्यपि विश्व स्वास्थ्य संगठनले यसलाई समर्थन गर्दै ट्रायल अघि बढाउन अनुमति दिएको छ ।
डेलीमेलको रिपोर्टअनुसार विश्व स्वास्थ्य संगठनले स्वस्थ व्यक्तिहरुलाई संक्रमित बनाउँदा भ्याक्सिन विकास गर्ने प्रक्रिया छिटो हुने बताएको छ । यही कारण देखाउँदै डब्लुएचओले यसलाई नैतिक रुपमा समेत सही भनेको छ । विश्व स्वास्थ्य संगठनले यो ट्रायलको लागि ८ शर्तहरु तय गरेको छ । ती शर्तहरु पालना गर्दै ट्रायल अगाडि बढाउन सकिनेछ । शर्तअनुसार यो ट्रायलमा १८ वर्षदेखि ३० वर्ष उमेरका स्वयंसेवकमा मात्र ट्रायल गर्न पाइनेछ ।
स्वस्थ व्यक्तिहरुलाई संक्रमित गराएपछि उनहिरुमा भ्याक्सिनको असर हेर्ने प्रक्रियालाई ‘च्यालेन्ज ट्रायल’ पनि भनिन्छ । मलेरिया, टाइफाइड, फ्लू लगायतका भ्याक्सिन तयार गर्नको लागि विगतमा पनि यस्ता प्रयोग गरिएका थिए । यद्यपि यी रोगहरुको उपचारको लागि त्यतिबेला औषधिहरु थिए । तर, अहिले कोरोनाभाइरसको उपचारको लागि कुनै औषधि नभएको कारण पनि यो ट्रायल विवादित भएको हो । अहिलेको अवस्थामा ट्रायलका लागि कुनै व्यक्तिलाई संक्रमित गराउँदा गम्भीर रुपमा बिरामी भएमा उपचार गर्न कठिन हुनेछ ।
आम रुपमा पहिलेदेखि नै संक्रमित भइसकेका व्यक्तिहरुमा भ्याक्सिनको ट्रायल गरिन्छ । अक्सफोर्ड युनिभर्सिटी र इम्पेरियल बलेज लण्डनको तर्फबाट यस्तै बिरामीहरुमा ट्रायल सुरु गरिएको छ । तर, यो प्रक्रिया ढिलो हुन्छ । यही कारण यो प्रक्रिया छिटो गर्नको लागि ‘च्यालेन्ज ट्रायल’को प्रस्ताव आएको हो । यही च्यालेन्ज ट्रायललाई विश्व स्वास्थ्य संगठनले अनुमति दिएको हो ।
Facebook Comment