मकालु आधार शिविरमा एक महिनादेखि अलपत्र विदेशी नागरिकको उद्धार
खाँदबारी । सङ्खुवासभा मकालु आधार शिविरको भ्रमणका क्रममा करीब एक महिनादेखि अलपत्र परेका विदेशी नागरिकको उद्धार गरिएको छ । गत चैत २ गते मकालु आधार शिविरको भ्रमण गर्न आएका युक्रेनी नागरिक २६ वर्षीय अर्टेम सुहोनियाकिनको उद्धार गरिएको हो ।
युवा विकास केन्द्रको आपत्कालीन प्रतिकार्य केन्द्रको व्यवस्थापन र जिल्ला समन्वय समितिको पहलमा उद्धार गरिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए। मकालु आधार शिविरको भ्रमणमा आएका उनी लकडाउनका कारण अलपत्र परेका थिए । लकडाउनका कारण अलपत्र परेका उनलाई चैत २२ गते प्रहरीले उद्धार गरी जिल्ला प्रहरी कार्यालयले खानाको व्यवस्था गरी होटल खाँदबारीमा राखेको थियो ।
छब्बीस वर्षीय अर्टेमलाई आज पूर्वाधार विकास कार्यालयको गाडीमा इटहरीसम्म पठाइएको छ । उनलाई इटहरीबाट युवा विकास केन्द्रको अर्को गाडी व्यवस्था गरेर आइतबार नै काठमाडाँै पठाइएको युवा विकास केन्द्रको सङ्खुवासभाका संयोजक विजय कार्कीले बताए ।
Facebook Comment