निको भएका संक्रमितको अनुभव : न कुनै लक्षण थाहा भयो, न त कुनै असर

डिसी नेपाल
२९ वैशाख २०७७ ७:२६

विराटनगर। साउदी अरबबाट घर फर्केको ४६ दिनपछि कोरोना (कोभिड–१९) सङ्क्रमण देखिएपछि अस्पताल भर्ना गरिएका भोजपुरका उपेन्द्र राईले कोरोनाको असर बुझ्नै नपाई डिस्चार्ज भए।

भोजपुर हतुवागडी–६ का २६ वर्षीय राई वैशाख १३ गतेदेखि अस्पतालमा उपचारत भई आइतबार डिस्चार्ज भएका हुन्। तर, उनले संसारलाई असर पु-याइरहेको कोरोनाले आफ्नो स्वास्थ्यमा कुनै प्रभाव नपारेको बताए।

मलाई केही भएकै थिएन र अहिले पनि केही भएकै छैन, राईले भने– मलाई कोरोना छ भनेर डाक्टरलाई मात्रै थाहा छ। उनी फागुन २७ गते साउदी अरबबाट घर फर्किएका थिए। घर फर्केको ४६ दिनपछि सङ्क्रमित भएको खबरले आफूलाई सुरुमै कुनै पनि डर उत्पन्न नभएको उनले बताए।

गाउँघरमा अलिअलि हल्ला गरेछन्, राईले हस्यौँली गर्दै भने– भाग्यो रे पनि भनेछन्। उनले आफूलाई कुनै लक्षण बिना पोजेटिभ र कुनै असर बिना नेगेटिभ भएको कुराले सचेत गराएको बताए। डिस्चार्जपछि १४ दिनसम्म घर नफर्कने बताउँदै उनले स्थानीय तहको क्यारेन्टीनमा बस्ने ईच्छा जाहेर गरेका छन्।

डिस्चार्जपछि अस्ताल परिसरमा हँसिलो मुद्रामा प्रतिक्रिया दिँदै उनले घरपरिवार र छरछिमेकमा पर्नसक्ने मनोवैज्ञानिक असरलाई कम गर्न आफूले तत्काल क्वारेन्टीनमै बस्नु उचित हुने निर्णयमा पुगेको बताए। संसारका अन्य मुलुकका नागरिकको अवस्था त्यस्तो हुँदा नेपालमा कोरोना सङ्क्रमित धमाधम घर फर्कन पाउनु भाग्य रहेको उनको बुझाइ थियो।

बिदाईमा स्वास्थ्यकर्मीसँग हार्दिकता साटेर हातमा पुष्पगुच्छासँगै निस्किएका झापा बाह्रदशीका ४० वर्षीय मुजाइर आलमले चिकित्सकको सुझावका आधारमा दैनिकी व्यवस्थापन गर्ने बताए। उनले स्वास्थ्यकर्मीसँग परामर्शमा रहिरहने बताउँदै सङ्क्रमणलाई सजिलै परास्त गर्न सकेको बताए।

अस्पतालमा बस्नु घर वा मस्जिदमा बसेजस्तो नहुने बताउँदै उनले सबैको हार्दिकता पाएकोमा खुसी व्यक्त गरे। तवलिगी जमात समूहका सदस्य आलमले अस्पतालमा पानीको आपूर्ति व्यवस्थापनमा केही समस्या परेको भन्दै त्यस्ता मिलाउन सुझाव भने दिए।

फागुन ३० गते भारतबाट नेपाल आउनुभएका आलमलाई स्थानीय तहसँगको समन्वयमा मदरसामा राखेर स्वास्थ्य निगरानी गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख एवम् अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिए।

डिस्चार्जपछि सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थले दुवैजनालाई शुभकामना तथा बधाई दिदैं विदाई गरेका थिए। उनले घरमा वा अन्य जुनसुकै स्थानमा बस्दा पनि आफ्नो व्यक्तिगत सरसफाईदेखि सरकारले तोकेको १४ दिनसम्मको क्वारेन्टीन मापदण्ड कायम गर्नका लागि अनुरोध समेत गरेका थिए।

कोभिड–१९ उपचार केन्द्रमा बैशाख २३ गतेसम्म भर्ना भएका ३१ जनामध्ये बैशाख २४ गते ६ जना डिस्चार्ज भएका थिए। त्यसपछि बैशाख २६ गते थप ८ जनालाई डिस्चार्ज गरिएको थियो। आइतबार २ जनासहित १६ जना डिस्चार्ज भएका छन्। त्यस बाहेक बैशाख २७ गते भर्ना गरिएका ३ र २८ गते भर्ना गरिएका १ जना गरि १९ जना उपचारतः रहेकाे व्यवस्थापन संयोजक बस्नेतले जानकारी दिए।

भर्ना गरिएकामध्ये झापाका १ जना र बाँकी १८ जना उदयपुर भुल्केस्थितका संक्रमित हुन्। उदयपुरको भुल्केबाट शनिबार र आईतबार भर्ना गरिएका चारजना महिला हुन्।

गाेरखापत्र दैनिक




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *