बेलायतमा श्रमिकहरूमा भाइरस सङ्क्रमण र मृत्युको बढी जोखिम

डिसी नेपाल
२९ वैशाख २०७७ २२:३४

लण्डन । बेलायतका विभिन्न स्थानमा प्राविधिक रूपमा दक्ष कामदारको तुलनामा निम्न कौशल कामहरूमा खट्ने श्रमिकमा कोरोना भाइरसको बढी जोखिम रहेको बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार बताएको छ । तथ्याङ्कमा श्वेत नागरिकको तुलनामा अश्वेत नागरिकको कोरोना भाइरसका कारण बढी मृत्यु भएको देखिएको छ ।

प्रधानमन्त्री बोरिस जोनसनले आइतबार निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्केर आउन सक्ने तर कार्यालयका कर्मचारीले घरबाटै काम गर्न आइतबार गरेको आग्रहपछि राष्ट्रिय तथ्याङ्क कार्यालयले उक्त तथ्याङ्कलाई महत्वसाथ सार्वजनिक गरेको हो ।

निर्माण र उत्पादनका क्षेत्रका कामदार काममा फर्किन सरकारले गरेको आह्वान भाइरसको फैलावट रोक्न सरकारले सात हप्ता लामोे राष्ट्रव्यापी बन्दाबन्दीपछि लिएको पहिलो कदम हो । सरकारले आवश्यकता र सङ्क्रमणको अवस्थालाई विचार गर्दै चरणबद्ध रूपमा अन्य कार्यक्रमहरू पेश गर्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री जोनसनले सोमबार संसदलाई सम्बोधन गर्दा थप क्षेत्रलाई काममा फर्कनेगरी सार्वजनिक आह्वान गर्ने अपेक्षा गरिएको छ ।विपक्षी दल र युनियनहरूले काममा फर्केका जनताको सुरक्षाबारे चिन्ता व्यक्त गरेका र नयाँ सिफारिसहरूको बारेमा स्पष्टताको अभाव रहेको बताएका छन् ।

स्कटल्याण्ड र वेल्सका क्षेत्रीय सरकारहरूले प्रधानमन्त्रीको घोषणा विपरित उनीहरूले उच्च सङ्क्रमण जोखिमको कारण बन्दाबन्दीलाई कायम राख्ने कुरा जनाएका छन् ।

ओएनएसले अप्रिल २० सम्म इङ्ल्यान्ड र वेल्समा भएका झण्डै दुई हजार ५०० मृत्यको समिक्षा गरेको र यसमा सबैभन्दा कम कुशल व्यवसायमा काम गर्ने पुरुषहरूको मृत्यु दर सबैभन्दा बढी रहेको बताएको छ ।

मूल्याङ्कनले ट्याक्सी, बस र अन्य सार्वजनिक यातायातका चालकहरू, कुकहरू र खुद्रा सामान र व्यापारिक केन्द्रमा काम गर्ने व्यक्तिको तुलनामा अन्य पेशामा रहेका व्यक्तिहरूको मृत्यु सङ्ख्या रहेको देखाएको छ ।

सामाजिक सेवा वा व्यक्तिगत हेरचाहमा काम गरिरहेका पुरुष र महिलाहरू दुबैमा भाइरसको सङ्क्रमण र मृत्युको दर उल्लेख्य बढी रहेको तथ्याङ्कले देखाएको छ । अध्ययनमा स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक वा नर्सहरूको मृत्यु दर निकै कम रहेको बताइएको छ ।

यद्यपि ओएनएसले कुनै पनि निश्चित निष्कर्ष निकाल्न अध्ययन एकदम सानो र साँघुरो रहेको भन्दै यो अध्ययनले सम्पूर्ण देशको स्थितिको मुल्याङ्कन गर्छ भन्ने निश्कर्ष गलत हुने बताएको छ ।

“यो विश्लेषण कोभिड–१९ को समावेशी मृत्यु दर हो भन्ने छैन । व्यावसायिक जोखिम वा विभिन्नताको कारण तथ्याङ्क फरक आउनसक्छ । हामीले उमेरका लागि समायोजन गरेका छौं तर जातीय समूह तथा निवास स्थानजस्ता अन्य कारकहरूको लागि अध्ययन गरेका छैनौँ ।”

बेलायत महामारीको कारण विश्वमा सबैभन्दा बढी प्रभावित देशहरू मध्ये एक हो । सोमबारसम्म सरकारले आधिकारिक रूपमा सङ्क्रमण पुष्टि भएकामध्ये झण्डै ३२ हजार व्यक्तिको मृत्यु भएको जनाएको छ । भाइरसबाट हुने मृत्युको वास्तविक सङ्ख्या ओएनएसको दुई साता अघिको साप्ताहिक अपडेटको तुलनामा निकै धेरै हो ।

धेरै अध्ययनले जातीयता जस्ता मापदण्डमा आधारित बेलायतमा कोभिड–१९ को प्रभावमा महत्वपूर्ण असमानता फेला पारेको बताएका छन् । गत हप्ता सार्वजनिक रिपोर्टमा ओएनएसले इङ्ल्याण्ड र वेल्सका श्वेत मानिसहरूभन्दा अश्वेत पुरुष र महिलाहरूको कोभिड–१९का चार गुणा बढी मृत्यु भएको बताइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *