सांसदसँग सहकारी नेताको गुनासो : ढुवानी र बजारको समस्याले किसानको उत्पादन खेर गयो
काठमाडौं। सहकारी अभियानका नेताहरुले बजार र ढुवानीको व्यवस्था नहुँदा तरकारी र दुधलगायत किसानका उत्पादत खेर गएको गुनासो गरेका छन्। सोमबार अर्थ समितिको बैठकमा बोल्ने सहकारी अभियन्ताहरुले किसानले उत्पादन गरेको सामान बिक्री विक्री गर्ने सहज व्यवस्था मिलाउन माग गरे ।
बैठकमा बोल्दै कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम बहादुर पाठकले किसानको आफ्नै बजार नहुँदा समस्या भएको गुनासो गरे। ‘काठमाडौंमा सहकारीका किसानले ल्याएर डोको बिसाउने ठाउँ छैन्, भएको बजार निजी व्यापारीको कब्जामा छ अनि कसरी किसानले काम गर्ने ?’ उत्पादन गरेको वस्तुको लागत अनुसार मूल्य पाउने वातावरण नपाएसम्म किसान प्रोत्साहित नहुने बताए।
तरकारी तथा फलफुल केन्द्रीय संघका अध्यक्ष विनोद पराजुलीले कालिमाटी तरकारी बजारमा किसानहरुद्वारा सञ्चालित सहकारीको पहुँच नभएको गुनासो गरे। कालिमाटी बजारमा ९ प्रतिशत स्टल सहकारीले पाउने सहमति भएपनि त्यहीँको व्यापारीहरुले नै सहकारी बनाएर कब्जा गरेको बताए।
नेपाल दुग्ध केन्द्रीय सहकारी संघका कोषाध्यक्ष कृष्ण प्रसाद सापकोटाले लकडाउनका कारण धेरै दुध खेर गइरहेको गुनासो गरे। राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले राज्यले अनुदान दिएर प्रदान गर्ने सहूलियत ऋण सहकारीमार्फत परिचालन गर्न आग्रह गरे। बैंकहरुबाट मात्र त्यस्तो कर्जा परिचालन गर्दा टाठाबाठाले मात्र कब्जा गरेको भन्दै उनले सहकारीबाट परिचालन भएमा वास्तविक किसानसम्म पुग्ने बताए ।
कोरोना महामारीका कारण विश्व श्रम बजारबाट फर्किने युवाहरुलाई स्वरोजगार बनाउन सहकारीमार्फत काम गर्न सकिने उनको भनाइ थियो। बैठकमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ अध्यक्ष परितोष पौड्याल र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतिले लकडाउनपछि सहकारी संस्था संचालनमा तरलताको अभाव हुने बताए । तरलता व्यवस्थापनका लागि छुट्टै कोष सुरु गरिएको र त्यसमा राज्यले समेत सहयोग गर्नुपर्ने उनीहरुको माग थियो ।
Facebook Comment