प्रधानमन्त्रीद्वारा नर्सिङ दिवसको शुभकामना

डिसी नेपाल
३० वैशाख २०७७ १६:२५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारीविरुद्धको युद्धमा अग्रिम मोर्चामा रही सेवा प्रदान गर्नुहुने सम्पूर्ण नर्समा ‘विश्व नर्स दिवस’को शुभकामना व्यक्त गरेका छन् । मंगलबार उनले ट्वीट गर्दै विश्व नर्सिङ दिवस तथा फ्लोरेन्स नाइटिङ्गेलको २००औँ जयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका हुन् ।

यसैगरी दिवसका अवसरमा शुभकामना सन्देश दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नर्सिङ सेवालाई अझ परिस्कृत गर्न थप लगानी आवश्यक रहेको बताएका छन् । उनले विश्व स्वास्थ्यका लागि नर्सिङ सेवाको नेतृत्व आवश्यक भएको हुँदा राज्यको सबै तहबाट यस सेवालाई अझ परिस्कृत गर्न थप लगानी गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताए।

सन्देशमा उनले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को कारण विश्व नै आक्रान्त रहेको यस अवस्थामा स्वास्थ्य सेवाको अग्रपङ्क्तिमा रही सेवारत सम्पूर्ण नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति आभारसमेत व्यक्त गरेका छन् । “नर्सहरूले गर्नुभएको अहोरात्र सेवाले धेरैजना बिरामी स्वास्थ्यलाभपश्चात् घर फर्किसक्नुभएको छ”, उनले सन्देशमा भनेका छन्, “आफू उच्च जोखिममा रहेर पनि आमनागरिकलाई यस रोगका साथै अन्य स्वास्थ्य समस्या आउन नदिन खट्नुभएका सम्पूर्ण नर्सप्रति थप उच्च मनोबलका साथ कार्य गर्न ऊर्जा मिलोस् भन्ने कामना गर्दछु ।”

उनले कोरोना भाइरस (कोभिड–१९)को उपचारमा संलग्न नर्स, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा कवच, स्वास्थ्य बीमा, भत्तालगायत अन्य सुविधा नेपाल सरकारको व्यवस्था भन्दै भविष्यमा अझ उत्प्रेरणा बढाउन विभिन्न सुविधा थप गर्दै जाने बताए । उनले यस विषम परिस्थितिमा थप हौसला र उच्च मनोबलका साथ बिरामीको सेवामा अहोरात्र खट्ने सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत सम्पूर्ण नर्सप्रति आभार प्रकट गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *