प्रधानमन्त्रीले भने-अर्काको जग्गामा बाटो खन्नु सुहाउने कुरा हो ?

डिसी नेपाल
३० वैशाख २०७७ २३:३७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अर्काको जग्गामा बाटो बनाएर नमिल्दो काम गरेको बताएका छन् । मन्त्रीपरिषद्को मंगलबारको बैठकमा नेपालले भारतसंग तिक्तता गर्न नचाहेको तर अर्काको जग्गामा बाटो बनाएपछि त्यसको विरोध स्वाभाविक भएको बताए । भारतसंग आफूले तिक्तता गर्न नचाहेको,झगडा गर्न नचाहेको र दूरी बढाउन नचाहेको भन्दै उनले यसको अर्थ अर्काको जग्गामा जवर्जस्ती बाटो बनाइदिनु उचित नभएको भन्दै भारतबिरुद्ध आक्रोश पोखेका थिए ।

भारतले लिपुलेक मिचेर बाटो तिब्बतको मानसरोवर पुग्ने बाटो बनाएको कुरा सार्वजनिक भएपछि नेपालभित्र उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री ओलीले मंगलबार मन्त्रीपरिषद्को बैठक बोलाएका थिए । बैठकमा उनले चीनको प्रसंग पनि निकालेका थिए । लिपुलेकका सन्दर्भमा भारत र चीन दुबै मुछिएको कुरा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलेको प्रसंग कोट्याए पनि प्रधानमन्त्रीले दाहालको भनाइबारे आफ्नो प्रतिक्रिया भने दिएनन् । चीनको संलग्नताको कुरा पनि साथीहरुले उठाउनु भएको छ भन्दै अहिले परिस्थितिको सम्पूर्ण व्रिफिंग गर्न उनले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई निर्देशन दिएका थिए ।

भारतले नेपाली भूमि लिपुलेकमा अचानक सडक उद्घाटन गरेको समाचार आएको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले भारतसंग आफूले कुटनैतिकरुपले नै समास्या समाधान गर्न चाहेको र पत्राचार गरेको बताउंदै जवर्जस्ती गर्ने कुरा मान्य नहुने बताएका थिए ।

साथीभाइ नै उग्र कुरा गर्छन्

प्रधानमन्त्री ओली भारतसंग जारी सीमा विवादमा सरकारले गम्भीरतापूर्वक आफ्नो देशको अडान स्पष्टसंग भारतसंग राखिरहेको बताउंदै आफ्नै दलका साथीहरु उग्र कुरा गरेर हिडेको आरोप लगाएका थिए । उनले देशलाई अप्ठेरो परेको बेला झन् अप्ठेरो पारिदिने गरी उग्र कुरा गरेर हिडेको भन्दै अरुले उचालेको भरमा त्यसो गरिरहेको आरोप पनि लगाए । तर, उनले बैठकमा कसैको नाम भने लिएनन् । यतिबेला नेकपाका नेता भीम रावल सीमा मिचिएको कुरालाई लिएर ओली सरकारविरुद्ध आक्रामक ढंगले प्रस्तुत भइरहेको तर्फ प्रधानमन्त्रीले संकेत गरेको हुनसक्ने एक मन्त्रीले डिसी नेपाललाई बताए ।

कोरोना बढेपछि प्रधानमन्त्री आक्रोशित

मन्त्रीपरिषद्को बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना संक्रमणको पछिल्लो अवस्थाबारे व्रिफिंग गरेका थिए । उनले तराईका जिल्लामा कोराना संक्रमण बढिरहेको तथ्यांक प्रस्तुत गरेपछि प्रधानमन्त्री ओली आक्रोशित भएका थिए । उनले भारतसंगको बोर्डरमा कडा सुरक्षा जांच हुनुपर्नेमा त्यसो हुन नसक्दा तराइमा कोरोना बढेको बताएका थिए । लकडाउनलाई मजाक बनाएर हुन्छ ? भन्दै उनले बोर्डर टाइट गर्नै पर्ने बताएका थिए । बैठकमा भारतमा अलपत्र परेका हजारौं हजार नेपालीका बारेमा कुनै चर्चा भएन । बरु, बोर्डरलाई अझ कडा पार्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *