‘भोको नबस्नुस्, श्रममा जुट्नुस्’

डिसी नेपाल
३१ वैशाख २०७७ १६:४८

चिप्लेढुङ्गा । कास्कीका चार गाउँपालिकामध्येको एक अन्नपूर्ण गाउँपालिका प्राकृतिक रूपले सुन्दर गाउँपालिकाको रूपमा चिनिन्छ । विश्वकै उत्कृष्ट पदमार्गको रूपमा चिनिने अन्नपूर्ण पदमार्ग रहेको यस गाउँपालिका पर्यटकीय दृष्टिकोणले होस् या भौगोलिक दृष्टिकोणले होस् केही पृथक मानिने गरेको छ । अहिले बन्दाबन्दीको समयमा पनि पृथक कामले आफ्नो पहिचानलाई स्थापित गराउन अभ्यस्त देखिन्छ ।

बन्दाबन्दीमा सबै गाउँपालिकाले राहत बाँडिरहँदा यस गाउँपालिकाले भने ‘सङ्कट टार्ने सकिने तर महासङ्कट टार्न नसकिने’ भन्दै राहत बाँड्ने काम तत्काल रोकेर, दीर्घकालीन विपद् न्यूनीकरणको योजनालाई जोड दिएको गाउँपालिलाका अध्यक्ष युवराज कुँवर बताए । उनले भने, “अहिलेको सङ्कटको अवस्था छ, तर अझ महासङ्कट नजिकिँदै छ । यसबाट कसरी पार लगाउने भन्ने तयारीमा छौँ । विपन्न परिवारलाई अहिले राहतको सट्टा रोजगार दिएर आत्मनिर्भर बनाउने अभ्यासमा जुटेका छाँै । स्थानीय उत्पादनमा जोड दिएका छौँ ।”

उनले गाउँपालिकामा कोही भोको नहुने तर श्रमसँग जोडिनुपर्ने बताए । उनले भने, “अहिले राहत होइन रोजगार दिएका छौँ । विकास निर्माणको कामका लागि स्थानीयवासी श्रममा जुट्नुभएको छ । बाटो ढलान, सिँढी बनाउने र आवश्यक अन्य पूर्वाधारमा विशेष जोड दिएका छाँै, स्थानीयवासीले अड्कलेर दिएको राहतभन्दा परिश्रम गरेर खान रुचाउनुभएको छ ।” उनले असहज परिस्थितिमा मजबुत हुने हो, दयनीय बन्ने होइन भन्दै गाउँपालिकाका जनतालाई मजबुत बनाउन चाहेको बताए ।

कँुवरले स्थानीय उत्पादनमा जोड दिएर नगदेबालीका लागि बीउ बेर्ना उपलब्ध गराएको र स्वास्थ्यका दृष्टिकोणले पनि निकै महत्व मानिने कोदो उत्पादन र बिक्री वितरणलाई प्राथमिकतामा राखेको बताए । राहत आवश्यक परे कोदो नै वितरण गर्ने योजनासहित गाउँपालिकाले हालसम्म करिब ५०० मुरी कोदो सङ्कलन गरेको उनको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत युवराज अधिकारीले कोरोना सङ्क्रमको उच्च जोखिमलाई ध्यान दिएर स्थानीयस्तरबाटै विकास निर्माणको काम भएको जानकारी दिए । अधिकारीले भने, “गाउँपालिकाको ११ वटा वडामा बाटो निर्माणलगायत अन्य पूर्वाधारको काम भइरहेको छ । सबै स्थानीय जुटेका छन् । करिब ४०० देखि ५०० सम्मले रोजगार पाइरहेका छन् ।”

उक्त गाउँपालिका वडा नं २ का वडाध्यक्ष चुडामणि अधिकारीले वडाको करिब एक हजार १०० मिटर बाटोको ढलान गर्ने तयारी भइरहेको जानकारी दिए । एक करोड ६० लाखका विकास बजेटबाट वडा नं २ मा बाटो निर्माणको काम तीव्ररूपमा भएको उनको भनाइ छ । उनले दैनिक १५ देखि २० स्थानीय श्रममा जुटेको र राहतभन्दा काम दिएर स्वावलम्बी बनाउन पहल गरेको बताए ।

काँडे अष्ट्रेलियन क्याम्प प्रितम देउराली बाटो निर्माण समितिका अध्यक्ष विकास गुरुङले रु ३० लाखको बजेटमा काम भइरहेको जानकारी दिए । “एक हजार ६१३ वर्ग किमीको बाटो निर्माण भइरहेको छ, १६५ मिटर सोलिङ, दुई हजार ८८ सिढीँ बनिरहेको छ । दैनिक २० देखि ३० स्थानीयवासी श्रममा जुट्नुभएको छ”, गुरुङले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *