कोरोनाभाइरसः भ्याक्सिन विकासमा ट्रम्पको नीति बाधक, ट्रम्पको ज्वाइँ मोहले समस्या
काठमाडौं। हालै अमेरिकी सरकारले कोरोनाभाइरसको भ्याक्सिनका खोजीको लागि विश्वव्यापी गठबन्धनको हिस्सा नहुने निर्णय गरेको छ । कोरोना भ्याक्सिनको खोजीको लागि अमेरिका एक्लै प्रयास गरिरहेको छ । द गार्डियनको रिपोर्टअनुसार कोरोनाभाइरसको भ्याक्सिनको खोजीमा अमेरिका सरकारको ‘पहिले अमेरिका’ नीतिका कारण समस्या भइरहेको छ ।
बेलायत, चीन, क्यानडा, टर्की, साउदी अरेबिया, जापानसहितका कैयौं देशले गत हप्ता विश्व स्वास्थ्य संगठन, गेट्स फाउण्डेशन र युरोपियन कमिशनसँग मिलेर भ्याक्सिन विकासका लागि काम गर्नको लागि भर्चुअल ग्लोबल समिटको आयोजना गरेका थिए । तर, अमेरिकाको तर्फबाट यसमा कसैले पनि सहभागिता जनाएनन् । यो समिटका क्रममा कोरोना भ्याक्सिनको विकासको लागि ८ बिलियन डलरको कोष जुटाइएको छ ।
ट्रम्पले गत हप्ता कोरोना महामारी बिना भ्याक्सिन नै ठिक भएर जाने बताएका थिए । ट्रम्पले भनेका थिए ‘आशा छ एक समयपछि यो (कोरोना) हटेर जानेछ । हामीले फेरि यसको सामना गर्नुपर्ने छैन ।’ ट्रम्पको यो बयानसँगै अमेरिकी अधिकारीहरुले अत्याधुनिक प्रयोगशाला हुँदाहुँदै पनि अमेरिकीहरुको लागि भ्याक्सिन विकास गर्ने काममा ढिलाइ हुन सक्ने चेतावनी दिएका थिए ।
वैज्ञानिकहरुलाई विश्वास छ कि रेकर्ड समयमा कोरोनाभाइरसका केही भ्याक्सिन तयार हुन सक्छन् । यो काममा अमेरिकी विशेषज्ञ महत्वपूर्ण भूमिका निभाउने क्षमता राख्छन् । तर, अमेरिकी सरकारले विश्वव्यापी गठबन्धनमा भाग नलिने निर्णयले भ्याक्सिनको खोजीमा ढिलाइ हुन सक्छ । अमेरिका आफ्नै क्षमतामा भ्याक्सिन बनाउने प्रयास गरिरहेको छ र अमेरिकी कम्पनीहरु भ्याक्सिन उत्पादन गर्नको लागि पनि तयारी गरिरहेका छन् ।
तर, गार्डियनको रिपोर्टमा दावी गरिएको छ कि ट्रम्प वर्षौंदेखि भ्याक्सिनेसनलाई लिएर झुटो बोलिरहेका छन् । विश्वव्यापी गठबन्धन भ्याक्सिनको लागि उकजुट भएका बेला ट्रम्प आफ्ना ज्वाइँ जरेद क्रुशनर र अन्य व्यक्तिहरुको नेतृत्वमा भ्याक्सिन तयार गर्ने कोसिस गरिरहेका छन् । यसलाई अमेरिकी सरकारले ‘अपरेशन वार्प स्पिड’ नाम दिएको छ ।
सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिजमा ग्लोबल हेल्थ कार्यक्रम चलाउने स्टिफन मरिसन भन्छन् ‘अमेरिकाले संकेत दिएको छ कि उसले ४ जूनमा भ्याक्सिनका विषयमा हुने ग्लोबल समिटमा भाग लिने छैन । यस्तो देखिन्छ कि ‘पहिले अमेरिका’ नीति लिने तय भइसकेको छ । यसबाट अन्तर्राष्ट्रिय स्तरमा चलिरहेको कोसिसलाई नोक्सानी हुन्छ । तनाव उत्पन्न हुन्छ, अनिश्चितता र असुरक्षा पनि बढ्छ ।’ मरिसन यसलाई खतरा बताउँछन् ।
Facebook Comment