मेवा किन्न भीडः बागवानीबाटै बिक्यो ५० क्विन्टल

डिसी नेपाल
१ जेठ २०७७ १७:०८

भद्रपुर । मेचीनगर नगरपालिका वडा नं १० स्थित नन्दा खोलाको बगरमा लटरम्मै फलेका मेवा किन्न दैनिक भीड लाग्ने गरेको छ । एफेक्स बागवानी तथा बीउबिजन उद्योगका सञ्चालक शेखर गुरागार्इंले बन्दाबन्दीको अवस्थामा ५० क्विन्टल मेवा बोटबाटै बिक्री भइसकेको जानकारी दिए ।

उनका अनुसार दैनिक मेवा किन्नकै लागि ३० देखि ४० जनासम्म कृषि फार्ममा आउने गरेका छन् । “मागअनुसार दिन सकेका छैनौँ”, उनले भने, “खाँदा रसिलो र मीठो छ । सायद सबै बजार ठप्प हुँदा मान्छेहरु फलफूल खोज्दै यही आइपुग्छन् ।”

गतवर्ष नन्दा खोलाको बगरमा रहेको १८ बिघा जमिन खरिद गरी मेवा, कागती, खरबुजालगायत अग्र्यानिक खेती लगाएको छ । जहाँ झण्डै पाँच बिघा जमिनमा मेवाखेती छ । बोटमै मेवा प्रतिकेजी रु ५० ले बिक्री भइरहेको उनले जानकारी दिए।

धुलाबारी मोडबाट करिब एक किलोमिटर उत्तरको नन्दा खोलाको बगरमा कागती, मेवा, खरबुजालगायत खेती गरिएको छ । रु एक करोडको लगानीमा पाँचजना युवा मिलेर सञ्चालन गरेको फार्ममा माछासमेत पालिएको छ ।

स्थानीय किसान डिल्लीराम उप्रेतीको फार्मबाट उन्नत जातको मेवा, कागतीको बिरुवा र मोरङको उर्लाबारीको फार्मदेखि विभिन्न प्रजातिका माछाका भुरा केन्द्रमा ल्याएर उत्पादन गरिरहेको उनको भनाई छ ।

केन्द्रमा सात हजार मेवा, तीन हजार कागती, तीनवटा ठूला पोखरीमा विभिन्न जातका चार लाख माछाका भुरा पालिएको उद्योगका अध्यक्ष मोहनचन्द्र भट्टले जानकारी दिए । दुईवटा पोखरी २÷२ कठ्ठाको र एउटा पोखरी ढेड विगाह क्षेत्रफलमा लगाईएको छ । पोखरीमा ग्रासकार, कमनकार, सिबलकार, रौँउ, कत्ला, मागुर, नैनी, लगायत जातका माछा रहेका छन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *