विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजरविरुद्ध भ्रष्टाचारको मद्दा दायर

डिसी नेपाल
१ जेठ २०७७ २०:१२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडि बढाउँदा काममा आलटाल गरी सेवाग्राहीसँग रु २० हजार घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो ।

यसैगरी आयोगले भ्रष्टाचारसम्बन्धी मुद्धामा प्रतिकूल बकपत्र गरी आयोगलाई असहयोग गरेको अभियोगमा बल्थली खानेपानी उपभोक्ता समितिका तत्कालीन अध्यक्ष चेतनाथ भारतीविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

निज समितिको अध्यक्ष हुँदा समितिको नाममा निकास भएको रकमको काम सम्पन्न भई बिल पास गरिदिएबापत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलका इन्जिनियर शेखरनाथ खनाललाई घुस दिएको उजुरी आफैँले दिएको र सोही प्रकरणको सुनुवाइका क्रममा उनै भारतीले उजुरी व्यहोराविपरित बकपत्र दिएको आयोगले जनाएको छ । उक्त अनियमितताको मुख्य अभियुक्त इन्जिनिर खनाललाई निजले घुस लिई भ्रष्टाचार गरेको अभियोगबाट छुटकारा गराउने उद्देश्यले प्रतिकूल बकपत्र गरी असहयोग गरेको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले नेपालमा दर्ता नै नभएका भारतीय कम्पनीबाट उत्पादित औषधि र औषधिजन्य पदार्थको आयातका लागि सिफारिस गरी आयातसमेत गराई भ्रष्टाचार गरेको आरोपमा पशु स्वास्थ्य चिकित्सालय त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा बलराम थापाविरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । निजले आफू तथा औषधि व्यवसायीलाई अनुचित लाभ लिन आफ्नो ओहदा, अधिकार र हैसियत दाबी गर्दै नेपालमा दर्ता नभएको कम्पनीबाट ती औषधि आयातका लागि सिफारिस गरेको आयोगले आरोप लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *