आज नौ जना सांसदलाई संघीय संसद प्रवेश निषेध !
काठमाडौं। सरकारले आज अपरान्ह चार बजे प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा ९ सांसद सहभागी हुन नपाउने भएका छन्। कोभिड–१९ (कोरोना) भाइरस परीक्षण नगरेका कारण उनीहरुले संघीय संसदमा प्रवेश गर्न नपाउने भएपछि सहभागी नहुने भएका हुन्।
प्रतिनिधि सभाका ७ सांसद र राष्ट्रिय सभाका २ सांसदको कोरोना परीक्षण नभएपछि उनीहरुलाई संसद भवनमा प्रवेश निषेध गरिएको छ। प्रतिनिधिसभाका सांसदहरुमा किशोरसिंह राठौर, कुमारी थेबे, जयकुमार राई, नरमाया ढकाल, नागेन्द्र कुमार, रुबी नाज, सूर्यबहादुर केसीको कोरोना परीक्षण गर्न बाँकी छ।
त्यस्तै, राष्ट्रियसभाका नरपति सुनार र राधेश्याम पासवानको पनि कोरोना परीक्षण गरिएको छैन। उनीहरुले संसदको संयुक्त अधिवेशनमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा सहभागीता जनाउन पाउँदैनन्।
सरकारले संघीय संसदका सांसदहरुलाई अनिवार्य पिसिआर प्रविधिवाट कोरोना परिक्षण गराएको र परिक्षण नेगेटिभ देखिएकालाई मात्र प्रवेश गर्न दिने नीति बनाएको छ।
प्रतिनिधिसभामै विजयकुमार गच्छदार, मोहम्मद अफताव आलम, रेशमलाल चौधरी, हरिनारायणप्रसाद रौनियार भने विभिन्न फौजदारी र भ्रष्टाचारको आरोपमा निलम्बनमा छन्। राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट रिक्त छ। सरकारले आज अपरान्ह नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ।
Facebook Comment