इङ्गल्यान्डमा जून १ बाट केही स्कूल खोल्ने तयारी, शिक्षक सङ्गठनको विरोध
बीबीसी । इङ्गल्यान्डको एउटा ठूलो शैक्षिक संस्थाले आगामी जून महिनाको १ तारिखदेखि ३५ वटा प्राथमिक विद्यालय खोल्ने बताएको छ। ओएसिस एकेडेमी ट्रष्ट नामको उक्त संस्थाका संस्थापक स्टीभ चाल्कले स्कूल पुनः खोल्ने कामको विरोध गर्नेहरू मध्यम वर्गका मानिसहरू भएको बताए।
शिक्षकहरूको सङ्गठनको समूहले अहिले नै विद्यालय खोल्नु सुरक्षित नहुने चेतावनी दिएको छ। तर चाल्कले सङ्गठनको सुझाव एकतर्फी भन्दै सुविधाबाट वञ्चित विद्यार्थीहरू स्कूल आउन नपाउँदा उनीहरूलाई हुने हानी सङ्गठनले महसुस गर्न नसकेको बताएका छन्।
प्राथमिक विद्यालयहरू खोल्नेबारे एक हप्तासम्म चलेको विमर्शपछि ओएसिस एकेडेमी ट्रष्टले जून १ ताारिखदेखि खोल्ने निर्णय लिएको हो। शिक्षकहरूको सङ्गठनले भने त्यस दिनदेखि स्कूल खोल्ने काम सुरक्षित र व्यवहारिक नभएको बताएको छ।
तर शिक्षामन्त्री ग्याभिन विलियमसनले सांसदहरूलाई यो हप्ता स्कूल खोल्नु जिम्मेवार कदम हो भन्दै सुरक्षाबारे त्रास फैलाउने कुरा अस्वीकार्य भएको बताएका थिए।उनले भने, ‘विद्यार्थीहरूका लागि शिक्षा लिन र सिक्नका लागि सबभन्दा उचित स्थल स्कूल नै हो।’ चाल्कका स्कूलहरूमा ४५ प्रतिशत विद्यार्थीले विद्यालयमा निःशुल्क खान खान पाउँछन्।
उनले भने, ‘हाम्रा धेरै बच्चाहरू काउन्सिल परिसरमा थुनिएका जस्ता भएका छन्। उनीहरूले सफा हावा पाएका छैनन्, शारीरिक कसरत गर्न पाएका छैनन्। कतिले पोषिलो खाना अति कम खान पाएका छन् वा कतिले त खानै पाएका छैनन्।’
उनीहरूका धेरैजसो विद्यार्थीहरूको ‘बस्ने घर साँघुरो छ र उनीहरूको डिजिटल पहुँच थोरै मात्र छ’। त्यसैले अनलाइन मात्रै स्कूल चलाउँदा उनीहरू मर्कामा पर्ने चाल्कले बताए। चाल्कले स्कूलले विद्यार्थी या कर्मचारी कसैलाई पनि स्कूल आउन बाध्य नपार्ने बताए।
उनले सङ्गठनको धारणाको सम्मान गर्ने बताए। उनले सुरक्षाका उपायहरू अपनाइने बताए तर दीर्घकालीन रूपमा पर्ने सामाजिक मूल्युको तुलनामा अल्पकालीन बिरामी हुने खतरा कम हुने बताए।
तर यो कदम शिक्षकहरूको सङ्गठन (एनएएसयूडब्ल्यूटी)का महासचिव प्याट्रिक रोचले अस्वीकार गरेका छन्। उनले भने, ‘सबभन्दा पहिले शिक्षक र विद्यार्थीको स्वास्थ्य र सुरक्षा सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’
उनले भने, ‘स्कूल जान सुरक्षित छ भन्ने भएपछि मात्र खोलौँ भन्ने हामी चाहन्छौँ।’ सरकारलाई १ जुनबाट स्कूल खोल्ने कामबाट पछि हट्न आग्रह गर्दै संयुक्त विज्ञप्ति जारी गरेको नौ संस्था मध्ये एनएएसयूडब्ल्यूटी एक हो।
यसै सन्दर्भमा शिक्षकहरूको सङ्गठनका नेताहरूले वैज्ञानिकहरूलाई पनि भेट्ने बताएका छन्। वेल्समा भने प्रथम मन्त्री मार्क ड्रेकफोर्डले स्कूलहरू १ जूनमा नखोलिने बताएका छन्। स्कटल्यान्डमा आगामी गृष्मकालीन बिदाभन्दा अगाडि स्कूल खोलिने अपेक्षा राखिएको छैन। नर्दर्न आयरल्यान्डमा शिक्षामन्त्री पीटर वीयरले सेप्टेम्बरमा चरणबद्ध रूपमा स्कूल खोल्न सकिनेबारे बोलेका छन्
Facebook Comment