नेपालको नक्सा राजदरबारले बिगारेको सीमाविदको आरोप

डिसी नेपाल
३ जेठ २०७७ ११:१९

काठमाडौं। लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका नेपाली भूभाग भारतले अतिक्रमित गरेपछि भारतप्रति नेपाली जनताको मनमा आक्रोश छ। भारतप्रतिमात्र नभइ नेपाली नेताप्रति पनि जनताले आक्रोश व्यक्त गरेका छन्। नेपाल सरकार तथा नेताहरुले भारतसँग स्पष्ट, अडिग र दृढतापूर्वक आफ्ना भनाइ राख्न नसकेको भन्दै सरकार र नेताप्रति जनता रुष्ट छन्।

यसै मेसोमा सीमाविद बुद्धिनारायण श्रेष्ठले भने सरकारी संचारमाध्यममा नेपाली सीमा अतिक्रमित हुनुमा राजदरबारको हात रहेको खुलासा गरेका छन्। आफू नापी विभागका महानिर्देशकसमेत भइसकेका र नेपालको नक्शा बनाउने काममा लागेका सीमाविद् श्रेष्ठले लिम्पियाधुरासहित र लिम्पियाधुरा बाहेकको दुई वटै नक्शा बनाएर राजदबारमा पेश गरेको खुलासा गरेका हुन्।

शुक्रबार सरकारी अखबार गोरखापत्रमा ‘सुगौली सन्धिपछिको नक्सामा कालीको मुहान लिम्पियाधुरा’ शीर्षकको समाचारमा सीमाविद श्रेष्ठले नक्सा तयार पार्ने क्रममा कालापानी क्षेत्रको सीमामा द्विविधा देखिएको उल्लेख गरेका छन्। त्यो द्विविधा लिपुलेक र कालापानी मात्र राख्ने कि लिम्पियाधुरासमेत नक्सामा समेट्ने? भन्ने विषयमा भएको पनि खुलासा गरेका छन्।

उनले लिम्पियाधुरासमेत नेपालको सीमाभित्र समेटिएको नक्सा पनि तयार पारिएको खुलासा गरेका छन्। लिपुलेक र कालापानी मात्रै समेटिएको नक्सा पनि तयारी गरी ‘माथिल्लो’ निकायका रुपमा दरबारमा दुवैखालको नक्सा बुझाएको बताएका छन्। दरबारको आदेश अनुसार लिम्पियाधुरा बिनाको नेपालको नक्सा तयारी सार्वजनिक गरेको सीमाविद् श्रेष्ठले गोरखापत्रलाई बताएका छन्।

श्रेष्ठको कुरा मान्ने हो भने राजदरबारले लिम्पियाधुरालाई नेपालको सीमाबाट २०३२ साल अगावै हटाएको थियो। किनकि २०३२ सालमा नापी विभागले जारी गरेको नक्सामा लिपुलेक र लिम्पियाधुरा नेपालको सीमाभित्र समेटिएको थिएन।

नक्सा जारी हुने बेला श्री ५ वीरेन्द्र राजा थिए। तर, त्यतिबेला वीरेन्द्र राजा भएको ४ वर्ष मात्र भएको थियो त्यसैले नक्साको काम त्योभन्दा पहिल्यै भएको भएमा यसका राजा महेन्द्रको भूमिका हुन पनि सक्छ।

सीमाविद श्रेष्ठले राजदरबारमाथि नेपालको नक्सा फरक पारेको गम्भीर आरोप पनि लगाएका छन्। आफैं नक्शा बनाउने सीमावीद् श्रेष्ठले यतिबेला आएर राजदरबारमाथि आरोप किन लगाए? तत्कालीन राजपरिवार नारायणहिटी हत्याकाण्डमा परेर समुल नष्ट भइकेको छ।

उनले तत्कालीन अधिराजकुमार (पछि राजा र हालसम्म जीवितै रहेका) ज्ञानेन्द्र नक्सा बुझाउने विषयमा सम्बन्धित थिए वा थिएनन् भन्ने खुलाएका छैनन्। यदि ज्ञानेन्द्र त्यसमा सम्बन्धित थिएनन् भने सम्भवतः नक्सा ‘बिगारेको’ आरोप लागेका कोही पनि अहिले जीवित छैनन् र यो विषय पुष्टि गर्न कठिन छ ।

हुन त राजदरबार भित्र राजा, रानी, युवराज र अधिराजकुमार पनि पर्छन्। उनले आरोप लगाए पनि तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र सम्बन्धित थिए थिएनन् ? केही खुलाएका छैनन्। भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापनी र लिपुलेक अतिक्रमित गरेको विषय २०४८ सालदेखि नै उठ्नै आएको हो। तर यतिबेला आएर सीमावीद् श्रेष्ठले राजदरबारले नेपालको नक्सा फरक पारेको आरोप किन लगाए?

सीमाविद बुद्धिनारायण श्रेष्ठले त्यो बेला आफहरुले लिम्पियाधुरासहित र लिम्पियाधुरा बाहेकका दुईवटा नक्सा बुझाएको तर तत्कालीन सरकारले लिम्पियाधुरारहितको नक्सा जारी गरेको डिसी नेपाललाई बताए।

उनले त्यो बेलाको सरकारले चाहेको भए लिम्पियाधुरासहितको नक्सा जारी गर्न सक्ने उनको भनाइ थियो। ‘यस्ता विषयमा सरकारको भूमिका महत्वपूर्ण हुन्छ,’ सीमाविद् श्रेष्ठले डिसी नेपालसँग भने, ‘शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिले लिम्पियाधुरासमेटर नक्सा जारी गर्ने घोषणा गर्नु भएको छ। सरकारले चाह्यो भने त सक्दोरहेछ भन्ने उहाहरण हो यो।’

उनले त्याे बेला भारत र चीनबीच सीमा युद्ध भएकाले पनि सरकारले लिम्पियाधुरारहितकाे नक्सा जारी गरेकाे हुनसक्ने बताए।




प्रतिक्रिया

One thought on “नेपालको नक्सा राजदरबारले बिगारेको सीमाविदको आरोप

  1. नक्सा जारि भयको यदि २०३२ सालमा हो भने भारत र चीनबीच सीमा युद्ध भएको २०१९ सालमा हो। दुवै साल विच १३ वर्षको अन्तर छ त नि?

    शायद राजा महेन्द्रलाइ पंचायती तानाशाही नेपाली जनता माथि लादेकोमा प्रत्यक्ष्य वा अप्रत्यक्ष्य रुपमा समर्तन अथवा बिरोध गर्ने धम्की वा दबाबवाट लिम्पियाधुरा नरहेको नक्सा जारि गराउन लगायको थियो कि? जसलाई राजा वीरेन्द्रले बुबाको विवशता या इच्छा मानेर संशोधन गराउन नसकेको हो कि? स्मरणीय छ, पछि राजा वीरेन्द्रको पुरै परिवारको नातेदारहरु र थुप्रै अज्ञात सैनिकहरु सहित भयानक हत्याकाण्डमा सखाप गरियको थियो जसमा नकाब लगाउने दुइ तिन जना दक्षिनेहरुको पनि रक्त रंजित हात थियो।

    अब यदि लिम्पियाधुरासम्म नेपाल को गौरवशाली राष्ट्रिय झन्डा फहराउने हो भने पर्खाल वा काँडे तारको सट्टा त्यसको बजेटले युध्दक विमान र परमाणु बम बनायर हान्ने धम्कि दिनु पर्छ। अनि मात्रै दुइटै छिमेकी राष्ट्रको शाशकहरु लाइ लाइनमा उभ्याउन सकिन्छ।सबै नेताहरु र राष्ट्रवादी नागरिकहरुमा बेलै मा चेतना जागोस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *