अमेरिकाको धम्कीपछि झुक्यो चीन
काठमाडौं। चीनले शुक्रबार अमेरिकासँग सम्झौता गर्ने र कोरोना महामारीविरुद्ध लडाइँमा पूर्ण सहयोग दिने बताएको छ । चीनको यो बयान ट्रम्पको धम्कीपछि आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिकाले चीनसँग सबै सम्बन्ध तोड्न सक्ने चेतावनी दिएका थिए । विश्वका दुई ठूला अर्थव्यवस्थाको बीच विगत केही हप्तादेखि सम्बन्ध बिग्रिएको छ । कोरोना महामारी सुरु भएपछि अमेरिकाले लगातार चीनमाथि विश्वलाई धोका दिएर महामारी सम्बन्धी जानकारी लुकाएको आरोप लगाइरहेको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले शुक्रबार एक प्रेस ब्रिफिङमा भने – चीन–अमेरिका सम्बन्धलाई कायम राख्नु दुवै देशममा जनताको आधारभूत हितको पक्षमा छ । यो विश्वमा शान्ति र स्थिरताको लागि पनि जरुरी छ । अहिलेको समयमा चीन र अमेरिकाले महामारी विरुद्ध मजबुत सहयोग कायमै राख्नुपर्छ । जति छिटो हुन सक्छ बिरामीहरुलाई ठिक पार्नुपर्छ र अर्थतन्त्र, उत्पादनलाई फेरि गतिशिल बनाउनुपर्छ । यो त्यतिबेला मात्र सम्भव हुन्छ जब अमेरिका चीनसँग सम्झौता गर्नेछ ।
ट्रम्पले बिहीबार चेतावनी दिँदै भनेका थिए – अमेरिका चीनसँगका सबै सम्बन्धहरुलाई अन्त्य गर्न सक्छ । फक्स न्यूजलाई दिएको अन्तरवार्तामा उनीसँग अमेरिकाले चीनलाई कसरी जवाफ दिन्छ भनेर सोधिएको थियो । जवाफमा ट्रम्पले भनेका थिए – हामी धेरै कुरा गर्न सक्छौं । हामी चीनसँग सबै सम्बन्ध समाप्त पार्न सक्छौं । ट्रम्पले सबै सम्बन्ध अन्त्य गरेर ५ सय बिलियन डलर बचाउन सक्ने बताएका थिए । उनले शि जिनपिंगसँग आफ्नो सम्बन्ध राम्रो भएको तर अहिले उनीसँग कुरा गर्न नचाहेको बताए ।
Facebook Comment