कोरोना पोजेटिभ बिरामीको स्वास्थ्य मन्त्रालयले लेखेको ठेगाना गाउँपालिकामा नभेटिएपछि…

डिसी नेपाल
४ जेठ २०७७ ८:५६

सिराहा । सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका ३० वर्षीय पुरुष फागुन २८ गते मलेसियाबाट घर फर्केका थिए । पाँच दिनअघि उनको स्वाब संकलन गरिएको गाउँपालिका अध्यक्ष केदारप्रसाद यादवले जानकारी दिए । स्वास्थ्य मन्त्रालयको बुलेटिनमा सिराहा सखुवा–१९ का ३० वर्षीय पुरुष भनिएको छ । जसले यहाँका जनप्रतिनिधिदेखि प्रहरी सबैलाई अलमल्याएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

यो गाउँपालिकामा सखुवा–१९ छैन । यो गाउँपालिकामा जम्मा ५ वटा वडा छ । ‘साविकका गाउँ विकास समितिमा पनि १९ वटा वडा थिएन,’ अध्यक्ष यादवले भने, ‘ठेगानाले हामीलाई अन्योलमा पारिदिएको छ । बुझ्दै जाँदा सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीका भएको खुलेको छ ।’

संक्रमित ६६ दिनअघि मलेसियाबाट घर आएको जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । उनी मलेसियाबाट आएर १४ दिन गाउँपालिकाको क्वारेन्टाइनमा बसेको सखुवानन्कारकट्टि गाउँपालिका प्रमुख अध्यक्ष यादवले बताए । उनका अनुसार ६६ दिनअघि विदेशबाट आएका उनलाई अहिले कसरी कोरोना संक्रमण भयो भन्ने खुल्न सकेको छैन । अहिले उनको सम्पर्कमा रहेकाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको छ ।

सिराहा जिल्लामा पहिलोपटक कोरोना संक्रमित पुष्टि भएसँगै यहाँ थप सतर्कता अपनाइको छ । ती युवकमा कोरोना पोजेटिभ भेटिएसँगै गाउँलाई नै सिल गर्ने तयारी भइरहेको अध्यक्ष यादवले जानकारी दिए । योसँगै प्रदेश नम्बर–२ का आठै जिल्लामा कोरोना संक्रमित भेटिएका छन् । सिरहामा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । यससँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १०३ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *