प्रधानमन्त्रीलाई रेष्टुरेण्टमा प्रवेश गर्न दिइएन, आफूले बनाएको नियमले आफैंलाई रोक्यो
काठमाडौं। कुनै देशको प्रधानमन्त्री सावजनिक रुपमा रेष्टुरेण्ट वा क्याफेमा जाने घटना कमै हुन्छन् । यदि कुनै देशको प्रधानमन्त्री यसरी गइहालेमा कुनै रेष्टुरेण्टले उनलाई प्रवेश गर्न नै नदिएको घटना त शायद भएकै थिएनन् । तर, हिजो न्यूजिल्याण्डमा सम्भवतः पहिलो पटक यो घटना भयो । न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डन आफ्ना पार्टनर क्लार्क ग्रेफोर्डसम्ग वेलिंगटनको चर्चित क्याफे ओलिभ पुगेकी थिइन् । तर, म्यानेजरले उनलाई भित्र बस्ने ठाउँ नभएको भन्दै रोकिदिए ।
अहिले न्यूजिल्याण्डमा सामाजिक दूरीको कडा नियम लागू गरिएको छ । कोरोना महामारी फैलिनबाट रोक्ने उद्देश्यले लागू गरिएको यो नियम प्रधानमन्त्री जेसिन्डा आफैंले देशभर लागू गराएकी थिइन् । यही नियमका कारण उनी आफैंलाई रेष्टुरेण्ट प्रवेश गर्न दिइएन । करिब पौने घण्टा प्रतिक्षा गरेपछि मात्र प्रधानमन्त्री जेसिन्डाले रेष्टुरेण्ट प्रवेश गर्न पाइन् ।
द गार्डियनको रिपोर्ट अनुसार एक व्यक्ति जोयले ट्वीटरमा यो घटनाको जानकारी दिएका हुन् । उनले लेखेका छन् ‘ओह माइ गड, न्यूजिल्याण्डकी प्रधानमन्त्रीलाई ओलिभ रेष्टुरेण्टमा ठाउँ नभएका कारण फिर्ता पठाइयो ।’ युजरको लागि यो आश्चर्यको कुरा यसकारण पनि थियो किनकि सामाजिक दूरीको हिसाबले रेष्टुरेण्टमा १०० जनाको लागि अनुमति छ र १ मिटरको दूरीमा समूहमा बस्न पनि अनुमति छ । यसका बावजुद रेष्टुरेण्टले प्रधानमन्त्रीको लागि ठाउँको व्यवस्था गर्न सकेन ।
यद्यपि यो गडबडीका लागि प्रधानमन्त्री जेसिन्डाका पार्टनरले आफैंलाई जिम्मेवार ठहर्याएका छन् । उनले आफूले पहिल्यै टेबल बुक गर्न नसकेको बताए । न्यूजिल्याण्डमा लकडाउन हटाइएको छ तर सामाजिक दूरी कायम गर्नु जरुरी छ । यही कारण रेष्टुरेण्टले प्रधानमन्त्रीलाई बाहिरै रोकेको थियो । उनलाई करिब ४५ मिनेट प्रतिक्षा गर्नुपर्यो र यस क्रममा प्रधानमन्त्री जेसिन्डाले आम सर्वसाधारणले जस्तै बाहिर टेबल खाली हुने प्रतिक्षा गरेर बसिरहिन् ।
Facebook Comment