कोरोना भाइरस संक्रमण बढेसँगै तीन वटै सुरक्षा निकाय हाइअलर्टमा

डिसी नेपाल
५ जेठ २०७७ १४:४२

काठमाडौं। नेपाली सेनाका उच्च अधिकारीलाई नै कोरोना भाइरस देखिएपछि अन्य सुरक्षा निकायमा पनि सजकता अपनाउन थालिएको छ। सेनाले अहिले दैनिक ८ सयदेखि ९ सय पेट्रोलिङ गरिरहेको अवस्थामा ३० बेड आईसीयू र एक सय बेड आइसोलेसन तयार छ भने सशस्त्र प्रहरी र नेपाल प्रहरीले पनि तयारी अवस्थामा राखेका छन्।

नेपाली सेनका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार कोरोना संक्रमणमा काम गर्ने १५ हजार बढी जनशक्ति तयार रहेको र हरेक व्यारेकलाई सेफ जोनका रुपमा विस्तार गरिएको छ। उनका अनुसार नेपाली सेना अहिले हाइ अलर्टमा रहेको छ।

सशस्त्र प्रहरी बलले ७७ जिल्लामै कोरोनाविरुद्ध तयारी गरिरहेको छ। हरेक कार्यालयमा क्वारेन्टाइनका लागि कोठा बनाइएको छ। सर्वसाधारण तथा प्रहरी दुवैलाई हुने गरी कोठा तयारी अवस्थामा राखिएको छ। सीमा क्षेत्रमा यात्रु जाँचमा सशस्त्र प्रहरीलाई समेत खटाइएको छ।

स्वास्थ्यकर्मीलाई सहयोग गर्नसमेत सरकारले सशस्त्र प्रहरीलाई निर्देशन दिएको छ। त्यस्तै, संक्रमण देखिएमा आकस्मिक जिम्मेवारीका लागि तयारी अवस्थामा रहन पनि भनिएको छ। कार्यालयहरुमा बिशेष सतर्कता अपनाइएको प्रवक्ता डिआईजी प्रवीणकुमार श्रेष्ठले बताए। कार्यालयहरुमा थर्मल गनबाट ज्वरो नाप्न थालिएको छ भने सचेतना बढाइएको छ।

त्यसैगरी नेपाल प्रहरी फ्रण्टलाइनको सुरक्षा संयन्त्र भएकाले झनै सजकता अपनाउनु परेको नेपाल प्रहरीका प्रवक्ता डिआइजी निरजकुमार शाहीले बताए। उनका अनुसार प्रहरीमा रहेका हरेक प्रहरी कार्यालयमा क्वारेन्टाइन बनाइएको छ। नेपाल प्रहरीको अस्पतालमा आसियू र आइसोलेशन कक्ष पनि तयारी अवस्थामा राखिएको छ।

त्यसबाहेक सशस्त्र प्रहरीको अस्पताल नै कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा आएकाले संक्रमित सुरक्षाकर्मीहरुको उपचार पनि त्यँहीबाट भैरहेको छ।
फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मी कोरोना संक्रमित भएपछि सुरक्षा संयन्त्रहरु हाइअलर्टमा रहेका हुन्।

कोभिड—१९को संक्रमणले नेपालमा कसैलाई पनि छाडेको छैन। संक्रमणको संख्या बढ्दै गएपछि फ्रन्टलाइन -अग्रमोर्चा_मा खटिएर काम गर्नेहरु स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरु संक्रमित हुन थालेका छन्। अहिलेसम्मको तथ्यांकअनुसार ९ जना सुरक्षाकर्मी, ४ जना सञ्चारकर्मी र ३ जना स्वास्थ्यकर्मीमा कोभिड—१९ को संक्रमण पुष्टी भइसकेको छ।

पुष्टी हुनेहरुमा सुरक्षाकर्मीतर्फ २ जना नेपाली सेना, सशस्त्र प्रहरीका १ जना सई र २ जवान, नेपाल प्रहरीका १ सई, २ जवान र राष्ट्रिय अनुसन्धानतर्फका १ असई कोभिड—१९ बाट संक्रमित भएका छन्।

लकडाउनलाई छिचोलर भारतबाट नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि नेपालमा कोरोनाभाइरस संक्रमणको संख्या बढ्दै गएको छ। लुकेर नेपाल प्रवेश गर्ने अनि क्वारेन्टाइनमा नबस्ने कारण कोरोना संक्रमणको जोखिम झनै बढेको छ।

शुरूका दिनहरुमा फाट्टफुट्ट मात्र संक्रमित देखिएकामा केही दिनयता नेपालमा संक्रमणको दर निकै बढेको छ। यसबाट महामारीले अझै विकराल रूप लिन सक्ने संकेत देखिन्छ। बारामा सुरक्षाकर्मीलाई संक्रमण देखिएपछि त्यहाँको सरकारी वकिल कार्यालय र जिल्ला अदालतमा समेत त्रास उत्पन्न भएको थियो भने। महोत्तरीस्थित मध्य पृतनामा रहेका नेपाली सेनामा सेमत त्रास उत्पन्न भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *