गण्डकी प्रदेशसभाको बर्खे अधिवेशन आह्वान
कास्की । गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेका लागि आह्वान गरेका छन् । प्रदेश सरकार मन्त्रिपरिषद्को आइतबारको बैठकले बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेकामा प्रदेश प्रमुख शेरचनले प्रदेशसभाका सभामुखलाई सम्बोधन गरी अधिवेशन आह्वानको सूचना जारी गरेका हुन् ।
“प्रदेश सरकार गण्डकी प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको अधिवेशन संवत् २०७७ जेठ ११ गते आइतबार दिनको १ बजेदेखी पोखरा सभागृहमा आरम्भ हुने गरी आह्वान गरेको छु” प्रदेश प्रमुखद्धारा जारी सूचनामा भनिएको छ ।
सरकारले नदीपुरस्थित प्रदेशसभा भवन साँघुरो भएको र सामाजिक दूरी कायम गर्न कठिनाइ पर्ने भएकाले सभागृहमा संसद् बैठक राख्न लागिएको जनाएको छ । त्यसैगरी हिजोको मन्त्रिपरिषद् बैठकले प्रदेशका ११ वटै जिल्ला अस्पताललाई एक/एक वटा स्कारपियो गाडी खरिदका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।
तनहुँको दुई स्थानमा शवदाह गृह मेसिनका लागि आवश्यक सामग्री आयात गर्दा लाग्ने भन्सार छुटका लागि सङ्घीय सरकारलाई सिफारिसको निर्णय गरिएको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । बैठकले लघु तथा साना उद्यमीहरूलाई मेसिन उपकरण हस्तान्तरण गर्न बनेको कार्यविधिलाई स्वीकृत गरेको छ ।
Facebook Comment