के चीनलाई उछिनेर विश्वका उद्योगहरूको केन्द्र बन्ला भारत ?

डिसी नेपाल
६ जेठ २०७७ ८:२१

बीबीसी । विश्वभर दशौँ लाख मानिसमा कोभिड-१९ को सङ्क्रमण देखा परिरहँदा चीनले अभूतपूर्व नोक्सानी बेहोरिरहेको छ। त्यसका कारण औद्योगिक रूपमा विश्वको पहिलो रोजाइमा रहने गरेको उसको हैसियतमा धक्का लाग्न सक्ने देखिएको छ।

चीनको छिमेकी भारतले यसमा अवसर देखेको छ र नयाँ परिस्थितिमा जतिसक्दो चाँडो लाभ लिन व्यग्र देखिएको छ। भारतका यातायात मन्त्री नितिन गडकरीले विश्वव्यापी रूपमा कमजोर भएको चीनको अवस्था आफ्नो देशका लागि अप्रत्याशित रूपमा आएको अवसर भएको हालैको एउटा अन्तरवार्तामा बताएका थिए।

ब्रजिलको जत्रै जनसङ्ख्या भएको भारतको उत्तरी राज्य उत्तरप्रदेशले चीन छाड्न चाहिरहेका उद्योगहरूलाई आकर्षित गर्न एउटा आर्थिक कार्यदल नै गठन गर्ने भएको छ। भारतले लक्समवर्गको भूगोल भन्दा दोब्बर क्षेत्रफलको जमिन चीनबाट बाहिरिन चाहने कम्पनीहरूका लागि भनेर छुट्याउन तयार पारिरहेको छ।

ब्लूमबर्गका अनुसार भारतले १ हजार अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूसँग सम्पर्क पनि गरिसकेको छ। “यो सम्पर्क एउटा नियमित प्रक्रिया हो,” भारतको लगानी प्रवर्द्धन निकाय इनभेस्ट इण्डियाका प्रमुख कार्यकारी दीपक बागलाले बीबीसीसँग भने।

“कोभिडका कारण यी धेरै कम्पनीहरूले जोखिम कम गर्ने उद्देश्य राखेर चीनबाट व्यापार सम्बन्ध घटाउन खोज्ने प्रक्रिया द्रूत बनाउनेछन्।” अमेरिका र भारतबीच लगानी अभिवृद्धि गर्ने क्षेत्रमा काम गरिरहेको एउटा शक्तिशाली समूह यूएस-इण्डिया बिजनेस काउन्सिलले पनि भारतले जोडदार ढङ्गले पहल गरिरहेको उल्लेख गरेको छ।

यूएस-इण्डिया बिजनेस काउन्सिलकी अध्यक्ष एवम् दक्षिण तथा मध्य एशिया मामिला सम्बन्धी अमेरिकी पूर्व सहायक विदेशमन्त्री निशा विश्वालले बीबीसीलाई भनिन्, “भारतले केन्द्रीय र प्रान्तीय तहमा विभिन्न उद्योगलाई आकर्षित गर्ने प्रयत्न गरिरहेको हामीले पाएका छौँ।”

“भारतमा यस अघि नै उद्योग स्थापना गरिसकेका कम्पनीहरूले अरूभन्दा शुरूमा चीनमा रहेका आफ्ना उद्योगमा कम उत्पादन गर्ने र भारतमा आफ्ना उत्पादन बढाउन थाल्ने गर्न सक्छन्।”

तर उनले अहिले पनि त्यस्तो कार्य मूल्याङ्कनकै चरणमा रहेको भन्दै हतारमा निर्णय हुने सम्भावना नरहेको बताइन्। कोरोनाभाइरसले निम्त्याएको आर्थिक सङ्कटको वातावरणमा सम्पूर्ण रूपमा उद्योग स्थानान्तरण चुनौतीपूर्ण देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *