अमेरिका र ब्राजिलमा झन् बढ्यो कोरोना संक्रमण र मृत्युदर
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९) को हब बनेको संयुक्त राज्य अमेरिकामा फेरि कोरोना संक्रमित र ज्यान गुमाउनेको संख्या बढेको छ। पछिल्लो २४ घण्टामा मात्रै अमेरिकामा १ हजार ५५२ संक्रमितको ज्यान गएको वल्डोमिटरले जनाएको छ।
सोमबार अमेरिकामा १००३ संक्रमितको ज्यान गएको थियो ।
यस्तै, मंगलबार अमेरिकामा २० हजार २८९ नयाँ संक्रमित थपिएका छन् । सोमबारको तुलनामा मंगलबार संक्रमित केही कमी भएपछि एक सातादेखि विस्तारै घट्दै आएको संक्रमण तुलनात्मक रुपमा बढ्न थालेको हो ।
हालसम्म अमेरिकामा १५ लाख ७० हजार ५८३ जना कोरोना संक्रमित भएका छन् । कोरोनाको संक्रमणबाट ९३ हजार ५३३ संक्रमितको ज्यान गएको छ ।
यस्तै, पछिल्ला केही दिनदेखि महामारीको रुप लिएको ब्राजिलमा पछिल्लो २४ घण्टामा १ हजार १३० संक्रमितको ज्यान गएको छ । र, १६ हजार ५१७ संक्रमित थपिएका छन् ।
यो सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८८५ पुगेको छ । ज्यान गुमाउनेको संख्या १७ हजार ९८३ पुगेको छ।
मंगलबार ब्राजिलमा १४ हजार २८८ संक्रमित थपिएका थिए भने ७३५ जनाको ज्यान गएको थियो ।
Facebook Comment