परिवारले फोहरको थुप्रोमा भेटे सरकारी छाप लगाइएका दुई ब्याग, भित्र भेटियो १२ करोड !

डिसी नेपाल
८ जेठ २०७७ ९:०२

काठमाडौं। अमेरिकामा एक परिवारले फोहरको थुप्रोमा दुई वटा ब्याग भेटे । सडक किनारामा फोहरको थुप्रोमा भेटिएका यी दुई ब्यागमा ठूलो धनराशी थियो । तर, परिवारले यो रकम आफैं राख्नुको सट्टा पुलिसलाई बुझाइदिए । अहिले उनीहरुको इमानदारीको चर्चा पूरै अमेरिकामा भइरहेको छ । न्यूयोर्क पोस्टको समाचार अनुसार ती दुई ब्यागमा १ मिलियन अमेरिकी डलर (१२ करोड नेपाली रुपैयाँ) थियो ।

भर्जिनियाका डेभिड र एमिली शट्ज क्यारोलिन काउन्टीस्थित आफ्नो घरबाट छोराछोरीको साथमा पिकअप ट्रकमा कतै जाँदै थिए । केही पर गएपछि बाटोमा उनीहरुले फोहरको थुप्रोमा २ ब्याग देखे । डेभिडले गाडी रोके र ब्याग उठाएर हेरे । ब्यागमा सरकारी छाप लागेको थियो । छाप अमेरिकी हुलाक विभागको थियो । डेभिडले ब्याग उठाएर गाडीमा राखे र अगाडि बढे ।

परिवार घुमेर घर फर्किएपछि डेभिडले ब्याग खोलेर हेरे । त्यसभित्र प्यास्टिकका प्याकेटमा १ मिलियन डलर राखिएको थियो । प्लास्टिकका प्याकेटमा क्यास भल्ट लेखिएको थियो । डेभिडले यसबारे क्यारोलिन काउन्टी पुलिसलाई सूचना दिए । केही बेरमै पुलिसको टिम उनको घरमा पुग्यो ।

क्यारोलिन शेरिफका मेजर स्कट मोजरले यी दुई ब्याग फोहरको थुप्रोमा कसरी पुगे भन्ने विषयमा खोजी भइरहेको जानकारी दिए । कोरोनाको प्रकोपमा बेला डेभिड दम्पतीको इमानदारी उदाहरणीय भएको मोजरले बताए । मोजरका अनुसार यी ब्यागमा राखिएको धनराशी कुनै बैंकमा जम्मा हुनको हुलाकमार्फत लागि जाँदै थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *