भलिबल दिवसको औपचारिक कार्यक्रम नहुने
काठमाडौं । नेपाल भलिबल संघले आज भलिबल दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । कोरोना कहरका कारण मुलुक लकडाउनमा रहेपछि संघले भलिबल दिवसको अवसरमा कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको हो ।
बिहीबार भलिबल नेपालको राष्ट्रिय खेल भएको तीन वर्ष पूरा भएर चौथो वर्षमा प्रवेश गर्दै छ । तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री रहँदा र माओवादी केन्द्रकै दलजित विके श्रीपाइली युवा तथा खेलकुदमन्त्री भएको कार्यकालमा नेपाल सरकारले २०७४ जेठ ८ गते गते भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेको थियो । सोही दिनलाई सम्झना गर्दै संघले जेठ ८ लाई भलिबल दिवसका रूपमा मनाउँदै आएको छ ।
संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले यसपटक कोरोना महामारीको कारण देश लकडाउनमा रहेका कारण भलिबल दिवसमा कुनै औपचारिक कार्यक्रम गर्न नसकिने जानकारी गराए । तर, पनि सम्भव भएसम्म भिडियो कन्फरेन्समार्फत एकआपसमा भलिबल दिवसको शुभकामना आदानप्रदान गरिने अध्यक्ष शर्माले बताए ।
Facebook Comment