कतारमा कोरोना संक्रमित ९४ प्रतिशतको अवस्था सामान्य, निको हुने दर बढ्दै
काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) बाट खाडीमुलुक निकै प्रभावित बनिरहेका छन् । खाडी मुलुकमा सबैभन्दा बढी संक्रमित साउदी अरबमा फेला परेका छन् । साउदी अरबपछि धेरै संक्रमित पुष्टि भएको देश कतार हो । जहाँ हालसम्म ३७ हजार ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भैसकेको छ ।
कतारमा संक्रमणले उग्ररुप लिएपनि मृत्युदर भने ज्यादै न्युन छ । हालसम्म संक्रमितमध्ये १६ जनाको मात्रै ज्यान गएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार बुधवारसम्म १ लाख ७० हजार ४ सय ३७ जनामा कोरोनाको परीक्षण गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले संक्रमितमध्ये ९४ प्रतिशतको अवस्था सामान्य रहेको बताएको छ । मन्त्रालयले बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा संक्रमितमध्ये ५ प्रतिशतलाई मात्रै अस्पतालमा भर्ना गर्नु परेको जनाएको छ । सामान्य अवस्थामा रहेका संक्रमितहरुलाई विभिन्न स्थानमा कोभिड विशेष क्वारेन्टाइन निर्माण गराएर राखिएको छ ।
मन्त्रालयका अनुसार अस्पतालमा भर्ना गरिएकाहरुमध्ये १ प्रतिशतलाई मात्रै आईसीयुमा राखेर उपचार गर्नुपरेको छ । तीमध्ये धेरैजसो ४५ देखि ५४ वर्ष उमेर समूहका रहेको बताइएको छ । आईसीयुमा राखिएकाहरुमध्ये ७४ जनालाई मात्रै भेन्टिलेटरको सहायता लिनुपरेको छ ।
कतारमा उपचारपछि निको हुनेको संख्या पनि बढिरहेको मन्त्रालयको भनाइ छ । हालसम्म उपचारपछि स्वास्थ्य लाभ गर्नेको संख्या ६ हजार ६ सय पुगेको छ । कतारमा लक्षण बिनाका बिरामी धेरै देखिएका छन् । लक्षण देखिएकाहरुलाई पनि फरक–फरक लक्षण देखा परेका छन् ।
दोहास्थित नेपाली राजदूतावासका अनुसार कतारमा अहिले ३ लाख ५१ हजार ८ सय ७२ जना नेपालीले रोजगारी गर्दै आएका छन् । यो नेपाल सरकारसँग भएको तथ्यांक हो तर कतारमा सरकारी तथ्याङ्क भन्दा बडी करिब ४ लाख नेपाली रहेको अनुमान छ ।
कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन । तसर्थ त्यहाँ रहेको नेपाली दूतावाससँग कोरोना संक्रमित नेपालीको कुनै तथ्याङ्क छैन ।
Facebook Comment