गाई–भैँसीलाई सुत्केरी भत्ता

डिसी नेपाल
९ जेठ २०७७ १६:१९

लम्की । कैलालीको टीकापुर नगरपालिकाले गाई–भैँसीलाई सुत्केरी भत्ता दिने भएको छ ।

चालु आर्थिक वर्षमा ६० भन्दा बढी गाई भैँसीलाई सुत्केरी भत्ता वितरण गर्ने नगरपालिकाको पशु शाखाले जनाएको छ । शाखा प्रमुख श्यामराज पाण्डेका अनुसार उन्नतजातका बाच्छी उत्पादन गर्ने कार्यक्रमअन्तर्गत किसानलाई गाई तथा भैँसीपालनमा प्रोत्साहन गर्नका लागि सुत्केरी भत्ता दिन थालेको छ । “किसानले दूध उत्पादनमा मात्र ध्यान नदिएर बाच्छीको स्याहारमा पनि ध्यान दिऊन् भनेर भत्ता उपलब्ध गराउन थालेका हौँ”, उनले भने, “ किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गर्ने नीति लिएका छौं ।”सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउनका लागि पनि यो कार्यक्रम प्रभावकारी हुने विश्वास उनको छ ।

सुत्केरी भत्ता पाउन किसानले गाई र बाच्छीको फोटो कार्यालयमा पेश गर्नुपर्छ । भत्ता निजी अस्पतालमा कृत्रिम गर्भाधान गरेको भए पनि पाउने व्यवस्था गरिएको छ । सेवा लिनका लागि कृत्रिम गर्भाधान गरेको प्रमाणचाहि पेश गर्नुपर्छ । टीकापुर–४ बाघमाराका गाईपालक किसान रत्नप्रसाद पोखरेलको गाईले यस वर्ष रु एक हजार सुत्केरी भत्ता पायो । “उन्नत जातको बाच्छी होस् भनी कृत्रिम गर्भाधान गरेका थियौँ”, पोखरेलले भने, “गाई सुत्केरी हुनेबित्तिकै एक हजार पाए । यसले गाईलाई आवश्यक पोषण खुवाउन सहयोग भयो ।”

कृषि शाखाले यसबाहेक पशुपालक किसानलाई अवलोकन भ्रमण, घाँसको बीउमा अनुदान, प्राविधिक सहयोग, पशु स्वास्थ्य शिविरजस्ता कार्य गर्ने गरेको छ । शाखाले यस वर्ष डालेघाँस, बहुवर्षीय घाँस, पौष्टिक आहारा वितरण कार्य गर्दैछ । “यो समय घाँस खेती गर्ने समय हो”, शाखा प्रमुख पाण्डे भने, “लकडाउनमा वितरणमा समस्या भएको छ । त्यसैले किसानलाई भेला गर्न कठिन छ । अब विकल्पको खोजी गर्दै वितरण गर्ने तयारी गर्दैछौँ ।”

पशुपालक किसान शिव थापा टीकापुर दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको बताए । ‘‘यहाँ व्यावसायिकरूपमा पशुपालनमा लाग्ने युवाहरुको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “किसानलाई प्रोत्साहन गर्ने कार्य भइरहेको छ तर यति मात्र पर्याप्त होइन ।” खेतीयोग्य जमिन प्लटिङ भएर किसानलाई घाँस उत्पादनमा समस्या हुने अवस्था आउन थालेको छ । स्थानीय सरकारले यस सम्बन्धी दीर्घकालीन नीति तथा योजना बनाउनुपर्ने उनको भनइ छ ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *