कोरोनाविरुद्ध चीनको ठूलो कदम, अहिलेसम्म कुनै देशले यस्तो गर्न सकेको छैन
काठमाडौं। चीनले शुक्रबार एक दिन मात्र वुहान शहरमा १४ लाख ७० हजार जनाको कोरोनाभाइरस परीक्षण गरेको जनाएको छ । रोयटर्सका अनुसार स्थानीय स्वास्थ्य अधिकारीहरुले शनिबार यो जानकारी दिएका हुन् । बिहीबार यहाँ १० लाख जनाको परीक्षण गरिएको थियो । अहिलेसम्म अन्य कुनै पनि देशले एकै दिन यति धेरै संख्यामा परीक्षण गर्न सकेका छैनन् ।
केही दिन अघि मात्र चीनले वुहान शहरको पूरै जनसंख्याको परीक्षण गर्ने घोषणा गरेको थियो । चीनका अधिकारीहरुले यसअघि २ हप्तामा वुहानको पूरै १ करोड १० लाख जनसंख्याको परीक्षण गर्ने बताएका थिए । चीनले एक दिनमा वुहानमा १४ लाख ७० हजारको न्यूक्लिक एसिड टेस्ट गरेको हो । वुहानमा ८ अप्रिलदेखि लकडाउन हटाइएको थियो । त्यसपछि ९ र १० मेमा पहिलो क्लस्टर भेटिएको थियो ।
लकडाउन हटाएपछि संक्रमित भेटिएका कारण चीनले यहाँ लक्षण नदेखिएका व्यक्तिहरुमा पनि परीक्षण गर्न थालेको थियो । वुहान नै त्यो शहर हो जहाँबाट यो भाइर संक्रमण फैलिन सुरु भएको थियो । आधिकारिक तथ्यांकअनुसार चीनमा अहिलेसम्म ८४ हजार नागरिक कोरोनाभाइरसबाट संक्रमित भएका छन् । चीनमा ४ हजार ६ सय जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।
Facebook Comment