जाग्दैछ कोरोना खोपको आशा
![जाग्दैछ कोरोना खोपको आशा](https://www.dcnepal.com/wp-content/uploads/2020/03/corona-7.jpg)
काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) का निम्ति खोप विकास गर्न अन्तर्राष्ट्रिय समुदाय लागिरहेको छ। प्रभावकारी निष्कर्ष अझै आउन सकेको छैन। नौवटा खोप परीक्षणको तेस्रो चरणमा पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले जनाएको छ। हाल विश्वभर १५५ भन्दा बढी खोप विकासको परीक्षण चलिरहेको छ।
अनुसन्धान भइरहेका ती खोपले मानव समुदायलाई आशा भने जगाएको छ। डब्लूएचओका अनुसार पहिलो र दोस्रो चरण पार गरिसकेका र पार गर्दै गरेका दसवटा खोप निष्कर्षमा पुग्ने उच्च सम्भावना छ।
चीनको ‘एडेर्नो भाइरस टाइप ५ भेक्टर’ र अमेरिकाको ‘एमआरएनए’ भ्याक्सिनको सबैभन्दा बढी प्रभावकारी परीक्षण देखिएको छ। यी बाहेक अन्य तीनवटा चीनले ‘इनएक्टिभेटेड’ तर्फको खोप अध्ययन कार्य दोस्रो चरणमा पुर्याएको छ। त्यस अन्तर्गतको एउटा खोप भने पहिलो चरणमा छ। त्यसपछि भारत र अक्सफोर्ड युनिभर्सिटीको सहकार्यमा ‘नन रिप्लेसिङ भाइरल भेक्टर’का रूपमा एक खोप तयार भइरहेको छ।
नोभा भ्याक्सका तर्फबाट प्रोटिन भ्याक्सिन र अन्य दुई आएएनए र डीएन आधार भएको भ्याक्सिन पनि कोरोना विरुद्धमा बनिरहेको छ। यी सबैले दोस्रो चरण पार गरेका छन् । यी बाहेक अन्य ११४ वटा खोप निर्माणको प्रारम्भिक चरणमा रहेको डब्लूएचओले शुक्रबार सार्वजनिक गरेको छ। कतिपय खोप विभिन्न प्राणीमा परीक्षण गरिएको छ भने कतिपय मानिसमा पनि परीक्षणका क्रममा छन्। छिटो बजारमा आउने सम्भावना रहेको अमेरिकामा विकास भइरहेको ‘एमआरएनए–१२७३’ नामक खोपको परीक्षण परिणाम उत्साहजनक छ।
मोडेर्ना नामक औषधि कम्पनीले यसको निर्माण गरिरहेको छ। त्यस खोपको मानवमा पहिलो परीक्षणका क्रममा प्रतिरोध क्षमताको विकास गर्दै प्राणघातक भाइरसबाट मानिसलाई बचाउन सकेको कम्पनीको दाबी छ । योसँगै यसले दोस्रो चरणको परीक्षणबाट तेस्रो चरणको परीक्षणमा जाने अनुमति डब्लूएचओले दिएको छ।
गोरखापत्र दैनिक
Facebook Comment