भारत प्रमाण लिएर वार्तामा आऊ : मन्त्री अर्याल
काठमाडौं। नेपाल र भारतका बीचको सीमा विवादमा तेस्रो मुलुकलाई चीनलाई जर्वजस्ती तानेर विषयान्तर गर्न खोजिरहेका बेला नेपाल सरकारकी एकजना मन्त्री पद्मा अर्यालले त्यसको प्रतिवाद गरेकी छिन्। उनले विषयान्तर नगरी प्रमाण लिएर वार्तामा आउन भारतलाई आग्रह गरेकी छिन्।
भूमिव्यबस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले नेपालले चीनलाई नगुहारेको बताएकी छन्। भारतीय सेनापति मनोज नरभाने र भारतीय सत्तारुढ दलका बरिष्ठ नेताहरुले नेपाललाई चीनले परिचालन गरेको आरोप लगाएका बेला मन्त्री अर्यालले त्यसको जवाफ दिँदै दुई देशका बीचको कुरामा तेस्रो देशलाई अहिले किन सहभागी गराउने? भन्दै प्रतिप्रश्न गरेकी छिन्। उनले नेपालको पहिलो सर्त आफ्नो जमिन फिर्ता ल्याउने भएको स्पष्ट पारिन्।
डिसी नेपाल प्रतिनिधि सन्देशकुमार खड्कासँगको कुराकानीमा मन्त्री अर्यालले भनिन्, ‘हामीले चीनलाई गुहारेका छैनौं, दुई देशका बीचको कुरामा तेस्रो देशलाई अहिले किन सहभागी गराउने? हामी दुई पक्षीय कुरा गरेर समस्या समाधान गर्न चाहान्छौं।’
भारतको एक इन्च जमिन नेपाललाई नचाहिने र नेपालको एकइन्च भूमि पनि नदिने स्पष्ट पार्दै उनले भनिन्, ‘हामीलाई कसैको एक इन्च पनि चाहिन्न, हामी हाम्रो एक इन्च पनि दिन्नौं।’
उनले आफ्नो प्रमाण लिएर भूमिमा दावी गर्न भारतलाई चुनौती दिइन्। हामीले हाम्रो भूमिको यथेष्ठ प्रमाण जुटाएका छौं उनले भनिन्, हाम्रो भूमिमा भारतीय पक्षको भोगचलन छ। त्यसैले कुटनीतिक वार्ता गरेर तथ्य प्रमाण राखेर समस्या समाधान गर्छौं भन्ने नेपालको प्रष्ट धारणा छ।
नेपाल सरकारका तर्फबाट लिखित र मौखिकरुपमा पनि बारम्बार वार्तामा बसौं भनेर भारतलाई आग्रह गरेको भन्दै मन्त्री आर्यालले भारतलाई वार्तामा नबसेर सुखै नभएको दावी गरिन्। उनले भनिन्, ‘भारतलाई पनि अप्ठेरो छ नि, विश्वमा अगाडि बढिरहेको महत्वाकांक्षा राख्ने मुलुकलाई आफ्नो छिमेकीको सहयोग चाहिन्छ। यस्तो बेला भारत आफ्नो छिमेकीको मन कुड्याँउन चाहान्छ र? त्यसैले वार्ताबाट वाहिर जाने ठाउँ छैन।’
विगतमै भारत र नेपालबीचको सीमा विवाद टुंग्याउनु पर्नेमा त्यसो नभएको भन्दै विगतका शासकहरुले जमिन फिर्ता लिन नसकेकोले अहिलेको सरकार सो काममा दृढताका साथ लागेको उनले बताइन्। उनले भनिन्, ‘विगतमै टुंग्याउनु पथ्र्यो, हिजो भएन, अव अहिले पनि यो काम भएन भने कहिले हुन्छ ? त्यही भएर यो सरकारले आफ्नो कर्तव्य पूरा गरेको हो।’ आफूहरुले राष्ट्रियताको मुद्दालाई पटक पटक उठाएको र समस्या समाधानमा अघि सरेको पनि बताइन्।
विगतमा प्रचलनमा रहेको नक्सामा आफ्नो भूमि नपरेकाले अहिले नक्सा संशोधन गरेर आफ्नो भूमि ल्याउनु परेको बताइन्। उनले राष्ट्रवादी सबै नेपाली र विशेषत युवा वर्गको उत्साहलाई आवश्यक परेका बेला सरकारले आह्वान गरेका बेला राष्ट्रियताको जगेर्ना गर्ने कार्यमा अगाडि आउन समेत आग्रह पनि गरिन्।
उनीसँगको कुराकानी तलको लिंकमा हेर्नुहोस्।
Facebook Comment