ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई पूर्व घोषित समयभन्दा दुई दिन पहिल्यै प्रतिबन्ध

डिसी नेपाल
१३ जेठ २०७७ २०:२४

वासिङ्टन । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि भन्दै अमेरिकाद्वारा मङ्गलबारदेखि ब्राजिलबाट अमेरिका आउने गैर–अमेरिकीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

अमेरिकाले यस पहिले गरेको निर्णयमा ब्राजिलबाट अमेरिका प्रवेशमा बिहीबारदेखि प्रतिबन्ध लगाउने बताइएको थियो । यो निर्णय अमेरिकी नागरिकका लागि भने लागु नहुने अमेरिकाले जनाएको छ ।

व्हाइट हाउसले स्थानीय समय अनुसार सोमबार आफ्नो पूर्व निर्णयमा परिवर्तनको घोषणा गरेको हो । जोन्स हकिन्स युनिभर्सिटीको तथ्याङ्क अनुसार ब्राजिल कोरोना भाइरस सङ्क्रमणका हिसाबले अमेरिका पछि दोस्रो स्थानमा रहेको छ ।

ह्वाइट हाउसले ब्राजिलको स्थिति ल्याटिन अमेरिकाको सबैभन्दा बढी प्रभावित देशको रूपमा आइतबार बताएको छ । यो प्रतिबन्धको घोषणाले अमेरिकामा थप सङ्क्रमितको सङ्ख्यालाई नियन्त्रण गर्न मद्दत गर्ने अमेरिकाको विश्वास छ । प्रतिबन्ध अमेरिकी नागरिक वा कानूनीरूपमा स्थायी बासिन्दाका रूपमा प्रमाणित विदेशी नागरिक र उनीहरूका पति, पत्नी, आमाबाबु तथा बच्चाहरूमा लागू हुँदैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *