नवराज विक मृत्यु प्रकरण : २० जना विरुद्ध किटानी जाहेरी

डिसी नेपाल
१४ जेठ २०७७ १५:४५

काठमाडौं । अन्तरजातीय प्रेमका कारण नवराज विकको मृत्युलाई लिएर पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।

वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएको हो। जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठका अनुसार दलित अधिकारकर्मी पीडित पक्षले केटी पक्षलाई किटानी जाहेरी दिएका हुन्।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका हुन् ।

चौरजहारी ८ का टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको शव परीक्षणको क्रममा रहेको छ । हराएका तीन जनाको खोजीकार्य भइरहेको जनाइएको छ । खोजीकार्यमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न छन् । अहिले सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।

भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही, वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी ८ का टिकाराम सुनारको शव यसअघि नै फेला परिसकेको छ।

घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ। वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक श्रेष्ठले बताए। त्यसैगरी अहिले एसएसपी पोषराज पोखरेलको संयोजकत्वमा प्रहरी टोली छानवीनका लागि रुकुम पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *