उत्तर कोरियास्थित बेलायती दूतावास बन्द, कर्मचारी र कूटनीतिज्ञ चीन पुगे
काठमाडौं। बेलायतले उत्तर कोरियामा रहेको आफ्नो दूतावास बन्द गरेको छ र उसका कूटनीतिज्ञहरुले उत्तर कोरिया छाडेका छन् । बेलायती राजदूतलाई उद्धृत गर्दै बेलायती मिडिया डेलीमेलले लेखेअनुसार प्योङयाङले सम्भावित कोरोनाभाइरस आउटब्रेकलाई रोक्न प्रवेशमा कडाइ गरेसँगै बेलायतले दूतावास बन्द गरेको हो । उत्तर कोरियाले आफ्ना सबै सीमा बन्द गरेको छ र अहिलेसम्म कुनै पनि संक्रमणको केस नभएको बताएको छ ।
दूतावास अस्थायी रुपमा बन्द गरिएको दूतावासका प्रवक्तालाई उद्धृत गर्दै समाचारमा जनाइउको छ । उत्तर कोरियाले प्रवेशमा कडाइ गरेपछि दूतावासका कर्मचारीको आलोपालो मिलाउन कठिन भएकोले कार्यालय नै बन्द गर्नुपरेको प्रवक्ताले बताएका छन् । राजदूत कोलिन क्रुकले ट्वीट गर्दै २७ मेदेखि प्योङयाङस्थित दूतावास बन्द गरिएको र सबै कर्मचारीले देश छाडेको जानकारी दिएका छन् । ट्वीटको जवाफ दिँदै उनीहरु छिटै फर्किने आशा व्यक्त गरेको छ ।
एनके न्यूजले बेलायती कूटनीतिज्ञहरुले बुधबार सीमा पार गरेर चीन पुगेको लेखेको छ । बेलायतले उत्तर कोरियासँग सम्बन्ध सुधार गर्न चाहेको र सम्भव भएसम्म छिटो पुनः प्योङयाङ फर्किन चाहेको दूतावासले जनाएको छ ।
Facebook Comment