अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीलाई निष्काशन गर्ने तयारी
काठमाडौं। चीनसँग बिग्रिँदो सम्बन्धका बीच अमेरिकाले आफ्नो देशका विश्वविद्यालयमा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरुलाई निष्काशन गर्ने तयारी गरेको छ । समाचार अनुसार अमेरिकामा अध्ययन गरिरहेका हजारौं चिनियाँ विद्यार्थीहरुलाई अमेरिकाले निष्काशन गर्न सक्छ । यसअघि बिहीबार अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले हङकङलाई दिइँदै आइएको ‘वारंट स्पेशन ट्रिटमेन्ट’ हटाइने बताएका थिए ।
न्यूयोर्क टाइम्सका अनुसार चार अमेरिकी अधिकारीहरुले यो कुराको पुष्टि गर्दै ट्रम्प अहिले चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने एक महिना पुरानो प्रस्तावमाथि विचार गरिरहेको बताएका छन् । यसमा ती विद्यार्थीहरु छन् जो पिपुल्स लिबरेशन आर्मीको मान्यता प्राप्त केही विश्वविद्यालयको साथमा करार भएका विश्वविद्यालयमा अध्ययन गरिरहेका छन् । अर्थात चीनसँग करार भएका अमेरिकी विश्वविद्यालयहरुमा पढिरहेका विद्यार्थीहरुलाई अमेरिकाबाट निकाल्ने तयारी भइरहेको छ ।
ट्रम्पले कोभिड १९ का विषयमा चीनको रहस्यमय व्यवहार, यो रोगसँग सम्बन्धित तथ्यहरुमा पारदर्शिताको कमी र सुरुवाती समयमा अमेरिकासँग असहयोगको व्यवहारका कारण निकै रुष्ट छन् । गत हप्ता ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका थिए ‘यदि उनीहरु जानीजानी जिम्मेवार छन् भने यसको परिणाम भोग्न तयार रहुन् ।’ ट्रम्पले कोभिड १९ को संक्रमण विश्वमा फैलिनुअघि चीनसँग राम्रो सम्बन्ध भएको बताएका थिए ।
Facebook Comment