लकडाउनमा आफ्नै घर र छिमेकका महिलाहरु असुरक्षित

डिसी नेपाल
१६ जेठ २०७७ १२:२६

नुवाकोट। कोरोनाभाइरसका कारण गरिएको लकडाउनका कारण महिलाहरु आफ्नै टोलमा असुरक्षित महसुस थालेका छन् । लामो समयसम्म निरन्तरता पाएको लकडाउनमा आफ्नै परिवार, छिमेकमा खुल्लमखुल्ला ढुक्कका साथ घुलमिल हुन नसकेको महिलाहरु बताउँछन् ।

नुवाकोट विदुरकी २१ वर्षिया सोबिना (थर लुकाउन अनुरोध गरिएको) भन्छिन् ‘यो भन्दा अगाडिको समयमा अन्यत्र यस्ता समाचार सुनेपनि बेकार हो जस्तो लाग्थ्यो तर यो लकडाउनको समयमा त हो जस्तै लाग्यो । अहिले त घरबाट बाहिर निस्कन पनि कोरोना भन्दा पनि कसैले केही नराम्रो गर्ला कि भन्ने कुराको डर छ ।’

आफ्नै छिमेकका दाइभाईको पनि हेर्ने, बोल्ने हरेक कुरा परिवर्तन भएको देख्दा अचम्म लाग्ने गरेको उनले बताइन् । बाहिर मात्रै होइन, घरभित्रै पनि परिवार जम्मा भएर बस्दा ढुक्क नभएको नुवाकोट तार्केश्वर गाउँपालिकाकी २५ वर्षीया एक बुहारी बताउँछिन् ‘हुन त मैले पाप सोचेकी पनि हुन सक्छु तर किनकिन मनमा कताकता डर हुने । मेरो श्रीमान मसँग हुनुहुन्न बाँकी दुई देवर घरमा नै हुनुहुन्छ । अहिलेसम्म त्यस्तो नराम्रो त केही भन्नुभएको होइन तर आफुलाई भने ढुक्क लाग्दैन । बाहिर निस्कदा पनि अहिलेसम्म देख्दै नदेखेको मान्छे देखिन थालेको छ। म त सासुलाई एकछिन पनि छोड्दिन।’

बाहिर नाबालिकाको समेत बलात्कारका घटनाका समाचारहरु आइरहँदा कसरी सुरक्षित महसुस गर्ने ? धादिङ सांगोसकी २७ मनिषा ढकाल प्रश्न गर्छिन् । उनी भन्छिन् ‘हाम्रो देशमा नाबालिकाको त बलात्कार हुने गरेको छ । अनि कसरी हामीले सुरक्षित महसुस गर्ने ? अलिकति पनि सुरक्षित छु जस्तो लाग्दैन । लकडाउनको समयमा झन बाहिरबाट पनि टन्नै मान्छे भित्रिएका छन् । बाहिर एक्लै हिँड्न नै डर लाग्छ ।’

गोठालो जाँदा पनि आफ्नी बहिनीलाई साथमा लिएर जाने गरेको बताउँदै उनी थप्छिन् ‘आफ्नै टोलका मान्छेको पनि हामीप्रतिको नजर राम्रो छ जस्तो लाग्दैन।’ लकडाउन अझ कति समय लम्बिने हो थाहा छैन । पछिल्लो समय विकसित घटनाक्रमबारे महिलाहरुको भनाईले समाजमा धेरै नकारात्मक कुराहरु विकसित भइरहेको संकेत गर्छ ।

लकडाउनको समयमा बाटो र चौतारोमा फटाहा जस्ता देखिनेका ग्याङ जम्मा हुँदा यसै पनि मुटु काम्ने नुवाकोटकी अम्बिका बताउँछिन् । उनले भनिन ‘हेर्दै गुण्डाजस्ता देखिने केटा बाटोमा बस्छन् । अस्ति म कताबाट आइरहेकी थिएँ । यता हेर न भन्दै जिस्काइराको । आफ्नो भन्न त नहुने जमाना आयो के भन्न सकिन्छ र तिनीहरुलाई देख्दै मुटु काम्छ । हुन त हामी घरमा पनि सुरक्षित भने छैनौं । ग्याङ देख्दा बढी डर लाग्ने।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *