निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भैरहेको काँग्रेसको दावी

डिसी नेपाल
१६ असोज २०७५ १०:०९

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भइरहेको उल्लेख गर्दै सचेत रहनु सरकारलाई आग्रह गरेको छ। राष्ट्रिय सभामा प्रमुख प्रतिपक्ष दलका नेता एवम् काँग्रेस नेता सुरेन्द्रराज पाण्डेले निजगढ अन्तराष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भईरहेको दावी गर्दै सचेत रहन सरकारलाई आग्रह गरेका हुन्।

मंगलबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले वातावरणीय प्रभाव मूल्यांकनको नाममा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन षडयन्त्र भइरहेकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराए।

उनले सो विमानस्थल निर्माणका लागि सत्तापक्ष र प्रतिपक्ष मिलेर अघि बढनुको विकल्प नरहेको बताए। सो विमानस्थल अघि बढाउनका लागि सहज वातावरण बनाउन समितिले स्थलगत अवलोकनको काममा पनि ढिलाई गर्न नहुने प्रमुख प्रतिपक्ष दलका नेता पाण्डेको प्रस्ताव छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको काममा ढिलाई गर्न नहुनेमा जोड दिए। उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धि विवाद तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराए।

बैठकमा समितिकी सभापति दिलकुमारी रावलले दसैं र तिहारको बीचमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकनका लागि जाने गरी आवश्यक तयारी गर्न सचिवालयलाई निर्देशन दिएकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *