यी वैज्ञानिकले ५ वर्ष पहिल्यै गरेकी थिइन् कोरोनाभाइरसको भविष्यवाणी, तर विश्वले सुनेन

डिसी नेपाल
१७ जेठ २०७७ १३:१९

काठमाडौं। कोरोनाभाइरसको जीनोम सिक्वेंस विश्वमै सबैभन्दा पहिले पत्ता लगाउने वैज्ञानिक डा. शी झेंगलीले ५ वर्ष अगाडि नै कोरोनाभाइरस विश्वभर फैलिने भविष्यवाणी गरेकी थिइन् । एक टेलिभिजन शोको क्रममा उनले भनेकी थियन् कि केही वर्षपछि चमेराका कारण फैलिने एउटा भाइरसले विश्वव्यापी महामारीको रुप लिनेछ । तर, त्यतिबेला वुहानकी यी ‘ब्याट वुमन’को कुरालाई विश्वले गम्भीरताका साथ लिएन । जसको परिणाम आज विश्वले भोगिरहेको छ ।

त्यतिबेला जब चिनियाँ वैज्ञानिक शी झेंगली लगातार चमेरो, ओट्टर र अन्य जंगली जनावरको व्यापारको कडा विरोध र आउन सक्ने खतराको भविष्यवाणी गरिरहेकी थिइन् त्यतिबेलै विश्वले उनको यो चेतावनीको गहिराइ बुझ्न सकेको भए र आवश्यक कदम उठाउन सकेको भए आजको स्थिति आउने थिएन । सार्स भाइरसको जाँचको क्रममै डा. झेंगलीले यो कुरा थाहा पाइसकेकी थिइन् कि जनावरबाट मानिसमा सर्ने यो भाइरस आउने समयमा म्युटेट भएर नयाँ रुपमा फर्किन सक्नेछ । उनलाई यो भयानक त्रासदीको कारण बन्न सक्ने डर थियो । उनले आफ्नो यो डर र आशंका ५ वर्ष पहिले नै विश्वलाई बताइसकेकी थिइन् ।

डा. झेंगलीका अनुसार सार्स भाइरसको प्रकोपले श्वास प्रश्वाससम्बन्धी गम्भीर रोगहरु एक प्रजातिबाट अर्को प्रजातिमा फैलिने युगको सुरुवात गरिदिएको छ । यस प्रकारका गम्भीर भाइरसहरु आगामी समयमा निकै तीव्र रुपमा फैलिनेछन् । यसले विश्वको अर्थव्यवस्थामा ठूलो परिमाणमा खराब असर पार्नेछ । सार्स सीओभीलाई रोक्नको लागि जनस्वास्थ्य उपाय पर्याप्त र सक्षम थिए । तर, यसमाथि गरिएको अध्ययनहरुबाट थाहा भएको छ कि चीनमा चमेराहरुको ठूलो संख्यामा सार्सजस्तै अर्को भाइरस तीब्र गतिमा फैलिइरहेको छ जसले भविष्यमा निकै ठूलो खतरा उत्पन्न गराउन सक्छ ।

डा. शी झेंगलीले यस क्रममा चमेराबाट फैलिएका भाइरसको इतिहासबारे एक टक शोमा पनि भाग लिएकी थिइन् । यस क्रममा उनले अस्ट्रेलियामा फैलिएको डेंड्राबारे पनि बताएकी थिइन् । हेंड्रा प्रकोपको क्रममा उनी अस्ट्रेलियाको सरकारी एजेन्सी कमनवेल्थ साइन्टिफिक एण्ड इण्डष्ट्रियल रिसर्च अर्गनाइजेशनको लागि काम गर्थिन् । यो शोमा प्रस्तुतीको क्रममा उनले चेतावनी दिएकी थिइन् कि चमेराका गुफामा सार्सजस्तै कैयौं भाइरस भेटिएका छन् । साथमा उनले चमेराको बस्ती भएको क्षेत्रनजिकै बंगुर फार्म बनाउँदा मानिसले ठूलो मूल्य चुकाउनुपर्नेछ ।

डा. झेंगलीले त्यतिबेला भनेकी थिइन् कि अब सार्स फर्किने छैन तर हाम्रो पारिस्थितिक प्रणालीमा अहिले पनि कैयौं अन्य भाइरस छन् । सम्भव छ कि सार्सकै जस्तो गरी कुनै नयाँ भाइरस फैलिन सक्छ । यदि हामी यी भाइरसप्रति जागरुक नभए यो भाइरस सिधै वा कुनै जनावरबाट फैलिने उनले चेतावनी दिएकी थिइन् । अहिले डा. झेंगलीको ५ वर्ष पुरानो भविष्यवाणी सत्य भएको छ । लगभग सार्सजस्तै कोरोनाभाइरसले अहिले विश्वव्यापी महामारी फैलाएको छ ।

डा. शी झेंगलीले करिब १६ वर्षदेखि यस किसिमका भाइरसका विषयमा अनुसन्धान गरिरहेकी छिन् । चमेराबाट फैलिने संक्रमणका विषयमा त उनलाई विशेषज्ञ नै मानिन्छ । प्रोफेसर शी र उनको टिमले सयौं भाइरसको बायो स्ट्रक्चर तयार गरिसकेका छन् । उनकै अनुसन्धानको आधारमा चीनको वुहान प्रयोगशालामा भाइरसको शोध र भ्याक्सिन विकासको काम सम्भव भएको हो । यो प्रयोगशालामा मानिसबाट मानिसमा फैलिने खतरा भएका भाइरसको विषयमा शोध गरी तिनिहरुको भ्याक्सिन विकास गरिन्छ ।

यो प्रयोगशालामा हुने यस किसिमका अनुसन्धानको लागि अमेरिका, फ्रान्स लगायतका देशले आर्थिक सहयोग पनि गर्छन् । चीनको इन्ष्टिच्युट अफ भाइरोलोजीको यो पी४ ल्याबलाई फ्रान्सको बायो इण्डष्ट्रियल फर्म इन्स्टिच्युट मेरिक्युस र चिनियाँ एकेडेमी अफ साइन्सले मिलेर बनाएका हुन् । यो विश्वका सीमित प्रयोगशालामध्येको एक हो जसले क्लास ४ प्याथोजेन्स अर्थात पी४ स्तरका भाइरसको परीक्षणको अनुमति पाएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *