भानुको फुस्रेटारमा शहीद उद्यान निर्माण शुरु
दमौली । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारस्थित सामुदायिक वनमा शहीद उद्यान निर्माण शुरु गरिएको छ।
मझुवा ओख्ले सामुदायिक वनमा शहीद उद्यान निर्माणका लागि जग तयार गर्ने गरी काम शुरु गरिएको हो ।
उद्यान निर्माणका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेपछि काम शुरु गरिएको उद्यान निर्माण समितिका अध्यक्ष बाबुराम विकले जानकारी दिनुभयो।
नगरपालिकाकै रु १० लाख लागतमा गत आर्थिक वर्षमा उद्यानको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरिएको थियो।
विकका अनुसार मझुवा ओख्ले सामुदायिक वनको १५३ रोपनी जग्गामा राणाविरुद्धको आन्दोलन, पञ्चायतविरुद्धको आन्दोलन, जनयुद्ध तथा विभिन्न आन्दोलनका शहीदको स्मृतिमा उद्यान निर्माण गरिनेछ।
डिपिआरअनुसार उद्यान निर्माणका लागि रु १२ करोड लागत अनुमान गरिएको छ । उद्यानमा शहीदका स्मारकबाहेक, दृश्यावलोकन स्तम्भ, बालउद्यान, मनोरञ्जन उद्यान, ४०० जना अट्ने सभाहल, पैदलमार्ग, साहित्यिक स्रष्टाहरुको स्मारक, फूलको बगैँचा, रेष्टुरेन्ट, सवारी पार्किङस्थललगायतका संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ।
उद्यान निर्माणका लागि सर्वदलीय सहमति र सहभागितामा निर्माण समिति गठन गरिएको छ।
सबै पार्टीहरुको साझा थलोका रूपमा र सबै आन्दोलनका शहीदको सम्मान हुने गरी उद्यान निर्माण गर्न लागिएको उद्यान निर्माण समितिका सल्लाहकार एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीका सदस्य ओमकुमारी पौडेलले जानकारी दिए ।
उद्यान निर्माणका लागि मझुवा ओख्ले सामुदायिक वनले आफ्नो स्वामित्वको १५३ रोपनी जग्गा निर्माण समितिलाई भोगाधिकारका रूपमा उपलब्ध गराइसकेको छ।
उद्यानको भानु इञ्जीनियरिङ कन्सल्टेन्सीले विस्तृत प्रतिवेदन (डिपिआर) तयार गरेको थियो। उद्यान निर्माणका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिने समितिका अध्यक्ष विकले जानकारी दिए।
उद्यानमा शुरुआती चरणमा भानु नगरपालिकाभित्र घर भएका शहीदहरुको स्मारक राख्ने योजना भए पनि भविष्यमा जिल्लाभरका शहीदको स्मारक बनाइनेछ।
उद्यान निर्माण गरिने डाँडाको टुप्पोमा स्थानीयवासीले वर्षौँदेखि पूजा गर्दै आएको कालिका मन्दिर रहेको हुँदा उक्त मन्दिरसम्म पुग्ने पैदलमार्गसमेत निर्माण गरिने र मन्दिरलाई विशेष प्रकारले संरक्षण गरिने योजना रहेको छ। रासस
प्रतिक्रिया
Facebook Comment