ताराखोलामा औद्योगिक ग्राम निर्माण

डिसी नेपाल
२१ जेठ २०७७ १६:५७

बलेवा । बन्दाबन्दीका कारण जिल्लाका कयौँ योजना अलपत्र परेका बेला यहाँको एक गाउँपालिकाले शुरु गरेको औद्योगिक ग्राम निर्माणको काम भने अन्तिम चरणमा पुगेको छ । घरेलु तथा साना उद्योगमा लगानी आकर्षित गरी उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले नेपाल सरकार र गण्डकी प्रदेश सरकारको सहयोगमा चालू आर्थिक वर्षको असोजदेखि शुरु गरेको औद्योगिक ग्राम निर्माणको कामलाई बन्दाबन्दीको समयमा पनि निरन्तरता दिएपछि यसको निर्माण अन्तिम चरणमा पुगेको हो ।

रु एक करोड ७० लाखको लागतमा आगामी आवदेखि साना तथा मझौला उद्योग स्थापना र सञ्चालन गराउने लक्ष्यसहित पालिकाले उद्योगग्रामको संरचना निर्माण गरिसक्ने लक्ष्य राखेको गाउँपालिकाको अध्यक्ष प्रकाश घर्तीले बताए । स्थानीय उत्पादनका दर्जनाँै उद्योग सञ्चालन गर्न सकिने भएकाले पहिलो प्राथमिकता दिएर औद्योगिक ग्राम निर्माणको कामलाई तीव्रता दिइएको उनको भनाइ छ ।

गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालयबाट पाएको अनुदान रकमलाई समयमै सदुपयोग गरेर काम थालिएको अध्यक्ष घर्तीले बताए । ताराखोलाले वडा नं १ मा २० रोपनी जमिनमा औद्योगिक ग्राम बनाइरहेको छ । त्यसका लागि गत वर्ष नै जग्गा छनोट र व्यवस्थापन गरिसकेको थियो । ताराखोलामा पाइने कच्चा पदार्थबाट धेरै उद्योग सञ्चालन गर्न सकिन्छ । यसअघि पनि घरघरमा उद्यमी बनाउने योजनाअनुसार धेरैले स्वरोजगारमूलक काम गरिरहेका छन् ।

“यहाँ सञ्चालित स्वरोजगारमूलक व्यवसाय र साना तथा मझौला उद्योगलाई निर्माण हुन लागेको औद्योगिक ग्राममा व्यवस्थापन गर्ने लक्ष्य छ”, अध्यक्ष घर्तीले भने, “हामी लक्ष्यको नजिक छौँ, बन्दाबन्दीमा काम रोकिएन, बरु हामीले यसको सदुपयोग ग¥यौँ ।”

मजदुर तथा प्राविधिकले सामाजिक दूरी कायम गर्दै आवश्यक सावधानी अपनाएर निर्माणको काममा लागिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *