हाम्रो आयु अब तीस वर्ष मात्र ?

डिसी नेपाल
२३ जेठ २०७७ ८:१८

पहिलो ‘विश्व बातावरण दिवस सन् १९७४ मा अमेरिकामा आयोजना भएको थियो र त्यसको नारा थियो ‘एकमात्र पृथ्वी’ । हरेक वर्ष जुन ५ मा मनाइने यो दिवसले सुन्दर नारा, उत्साह र आशा बोकेको आज साढे ५ दशक नाघेको छ। मिठो नारा बनाउने, संकल्प गर्ने र पृथ्वीलाई लुटपात गरेर नथाक्ने बिश्वका शासकहरुसँग थकित र पराजित धर्तीले यो वर्ष चुपचाप् शान्तसँग दिवस मनाउन पाएकी छिन्।

सन् २०१८ र २०१९ मा ‘प्लाष्टिक प्रदुषण निर्मुल गरौं’ र ‘हावाको प्रदुषण निर्मुल गरौं’ भन्ने भव्य नाराका साथ मनाएको दिवसलाई इतिहासकै अत्यधिक प्रदुषण उपहार दिएर विश्वले खिल्ली उडायो।

हरेक वर्ष ७० लाख मानिसको मृत्यु प्रदुषित हावाको कारण हुन्छ। विश्व स्वास्थ्य संगठन दावी गर्दछ–१० जनामध्ये ९ जनाको फोक्सो प्रदुषित हावाले संक्रमित र पीडित छ। विश्व जनसंख्यालाई ट्वाइलेट पेपरको लागि मात्र दिनको २७ हजार रुख काट्नु पर्दछ। प्लाष्टिक फोहोरले हरेक वर्ष १ लाख कछुवामात्र मारिरहेको छ भने अन्य जलचरको क्षतिको लेखाजोखा नै छैन। प्रदुषित पानीको कारण हरेक दिन १५ हजार मानिसले ज्यान गुमाउँछन्।

समुद्रलाई हामीले दैनिक १६.३२ मिलियन केजी फोहोरको भारी बोकाइराखेका छौं। १ जनाले एक दिनमा औसत आधा केजी फोहोर फ्याक्दा हामीले धर्तीलाई ३.७९७ बिलियन केजी फोहोरको भारी दैनिक बोकाइराखेका छौं।

हामीले हरेक वर्ष ३ देखि ४ बिलियन केजी कार्वनडाईअक्साईड उत्पादन गरेर हावालाई स्वासप्रश्वास अनुपयुक्त बनाइरहेका छौं। भावी सन्ततिको धर्ती बालेर हामीले पूँजीबृद्धिको नाममा प्रकृतिलाई समाप्त पारिरहेका छौं। हामीले सम्बृद्धिका नाममा ७० प्रतिशत प्राकृतिक धर्ती समाप्त पारिसकेका छौं। त्यो भनेको ७० प्रतिशत जैविक बिविधता ध्वस्त भइसकेको छ। हरेक दिन ५० देखि १०० प्रजाति बिरुवा र जीवजन्तु नष्ट भइरहेका छन्।

पृथ्वीको यही क्रममा दोहन र बिनास हुने हो भने यसको आयु ३० वर्षमात्र छ भनेर बैज्ञानिकहरुले दाबी गरेका छन्। साथै, बैज्ञानिकहरुले ‘कि धर्ती जोगाउ नत्र अर्को ग्रहको खोजी गर’ भनेर हामीलाई सचेत गराइसकेका छन्।

पृथ्वीको यही क्रममा दोहन र बिनास हुने हो भने यसको आयु ३० वर्षमात्र छ भनेर बैज्ञानिकहरुले दाबी गरेका छन्। साथै, बैज्ञानिकहरुले ‘कि धर्ती जोगाउ नत्र अर्को ग्रहको खोजी गर’ भनेर हामीलाई सचेत गराइसकेका छन्।

यही गतिको जनसंख्या बृद्धि र विकासलाई सन् २०५० मा पुग्दा मानिसलाई ३ वटा पृथ्वी आवश्यक पर्ने किटान गरिएको छ। जलवायु परिबर्तनको प्रभाव कम गर्ने बाचा र संकल्प गर्नेछन् विश्व नेताहरुले आजका दिनमा । अर्को दिन यो बाचा चटक्कै बिर्सिनेछन् र कार्बन उत्सर्जन तथा पृथ्वी तताउने होडवाजी शुरु हुनेछ। आजसम्म पृथ्वीले भोगेको नियति यही हो।

प्रमाण र परिणाम

करिब ९ करोड मान्छेको नरसंहार गरेर प्रथम र दोश्रो विश्वयुद्ध पृथ्वी कव्जा र विस्तारका लागि भएका थिए। प्राकृतिक श्रोत साधनमाथिको कव्जा गर्न त्योभन्दा अगाडि पनि धेरै युद्ध र रक्तपात भएको इतिहास साक्षी छ। अझै राष्ट्रिय र क्षेत्रीय युद्धहरु जारी छन्। तेश्रो बिश्व युद्धको बहानाबाजी र तम्तयारी भइरहेको छ। हरेक युद्धले मानिसलाई भन्दा धेरै गुणा क्षति पृथ्वीलाई गर्ने हो जसरी एटमबमले हिरोसिमामा पीडादायी असर छाडेको थियो।

आज पनि आणविक हतियार निर्माण भइरहनु र धर्ती (जल, जमिन, आकाश) माथि क्षेप्यास्त्र परीक्षण भइरहनु पृथ्वी छिटो बिनास गर्ने मानिसका अक्षम्य कर्तुतहरु हुन्। अर्कोतिर कुरुप र बिरामी धर्तीमाताले बातावरण सन्तुलनका सानातिना काम आफै पनि गर्दैछिन्। बिभिन्न समयमा लाखौंलाख मान्छेको ज्यान जाने गरी फैलिएका महामारीहरु त्यसका प्रमाण हुन्। वर्तमानमा हामी कोरोना भाइरससँग लडिरहेका छौं। कोरोना पछिपछि फौजी किरा सलहको आक्रमण जारी छ।

एउटा साझा सिङ्गो पृथ्वीलाई हामीले सयौं राज्य, हजारौं प्रान्त, लाखांै स्थानीय इकाइमा बाँडेर साँधसीमा र भोगचलन गर्दै आएका छौं। सीमा बिबाद सर्बत्र बल्झिरहेको छ । पृथ्वी हाल प्राकृतिक बिश्राममा छिन्। प्रकृतिको सर्वोच्चता स्वीकार गरिदिन आफ्नो सन्तानलाई पुकारिरहेकी छिन्।

बिडम्बना, सन्तान लकडाउन् तोडेर प्रकृति ध्वस्त गर्न उद्यत छन्। अन्धा शासकहरुले आर्थिक मन्दीबाट मुक्ति खोज्न प्रकृतिको दोहनलाई तीब्र पार्ने र अन्धाधुन्ध कार्वन उत्सर्जन गर्ने अवस्यम्भावी छ। बाँच्नेहरुको भोलिको आर्थिक रणनीति त्यही हो, जुन पृथ्वीलाई डस्ने र आयु छोट्याउने हुनेछ ।

आफ्नो देशको अवस्था

नेपाल २ भीमकाय छिमेकीको बीचमा च्यापिएको प्राकृतिक श्रोत–साधन र सौन्दर्यताले भरपुर सुन्दर मुलुक हो। दुवै मुलुक भावी बिश्व शक्ति हुन्। दुबै छिमेकीका राजधानी सर्वाधिक प्रदुषित् छन्। अबको आर्थिक बिकासको पालो एशिया महादेशको हो।

दुई छिमेकीको प्रकृतिको दोहन र कार्वन उत्सर्जन होड्वाजी थामिनसक्नु हुनेछ। ईन्च ईन्च जमिन र हिमाल कव्जामा यी २ देशको झडप परिरहनेछ। सम्बृद्धिको अन्धो दौडमा एउटा सानो छिमेकीलाई बेवास्ता गरेर र मिचेर यी दुई अगाडि बढ्नेछन्।

ठीक २ वर्ष पूरा भयो, पंक्तिकारले आफ्नो मुलुकका सम्बन्धित र सरोकारवाला निकाय र कार्यालयमा धाएर तथ्याङ्क संकलन गर्न शुरु गरेको। विश्व जलवायु परिवर्तनको प्रभाव, जैबिक बिविधताको बिनास, चुरेको दोहन, बनक्षेत्र र सार्वजनिक जमिन अतिक्रमण, अन्तर्राष्ट्रिय सीमाना अतिक्रमण, जल प्रदुषण, हिमाल प्रदुषणको तथ्याङ्क हुनु, अद्यावधिक गर्नु र दिनु त धेरै टाढाको कुरा, गैंडा, बाघ, जङ्गे पिलर कति छन् अत्तोपत्तो नभएको देख्नु सुन्नु पर्यो।

निकट मित्रहरुले मुख खोलेर भने–‘हामीलाई सर्मित नपार्नुस्।’ उच्च पदाधिकारी मित्रहरु खुल्दै गए र भने– ‘नीति र कार्यक्रममा परेकै छ । बजेट भाषणमा परेकै छ। बिनियोजन भएकै छ। तर, काम गर देखाउ कसैले भन्दैन। प्रगति बिवरण र परिणाम कसैले खोज्दैन।’

नयाँ नेपालको नीति प्रकृतिमैत्री पटक्कै छैन। अध्ययन, अनुसन्धान, अभिलेख, केसस्टडी र पाठ हराएर गएको अवस्था छ । हरेक सरकार प्रकृतिबाट धेरै टाढा पद, पैसा, सत्ता र कुर्सी मोहमा लिप्त छ। बातावरण रक्षा पटक्कै नयाँ नेपालको प्राथमिकतामा परेको छैन।

गुमाएको बातावरण
चारकोसे झाडी समाप्त भयो। भारतदेखि युरोपसम्म रेलका लिग् बने हाम्रा बज्र अग्राखका रुखले। बन र बन्यजन्तु, जल, जमिन र जनता लुटिए, बेचिए, हराए। चुरे तुफान कौडीको भाउमा बेचिइरहेको छ। भूमिगत जल हराउँदै गएको छ। प्रकृतिमाथि अतिक्रमण र दोहन बिनास तीब्र बढ्दो छ। सरकार मुक्दर्शक मात्र होइन लाईसेन्स बेच्ने मसिनो दलालमा घटुवा भएको छ।

ओजोन प्वाल परेको, तापक्रम बढेको, हिमाल खुइलिएको डलर भाषण गर्ने सरकार सुकुम्बासी बनाउँदै वन अतिक्रमण गराउन र निकुञ्ज आरक्षलाई निजीकरण गरेर बिनासको बाटोमा दगुर्न उद्यत देखिन्छ। हिमालको फोहोर, बागमती बिष्णुमतीलगायतका नदी प्रदुषण, सीमाना अतिक्रमण, राष्ट्रिय सम्पदाको बिनास, राजधानीको प्रदुषण, तीब्र बन बिनासले सरकारको मन ध्यान नछुनु बिपरीत बुद्धि र लापर्वाहीको पाराकाष्ठा हो।

मुलुकको झण्डै १ चौथाइ निकुञ्ज आरक्ष क्षेत्रको महानिर्देशक महिनौं रिक्त राख्नु उपेक्षाको अर्को पराकाष्ठा हो। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्षौ नेतृत्वबिहिन राख्नु सरकारको निरिहता र असफलता हो।

आशाको केन्द्र

दिल्ली र बेईजिङबाट टाढा रहेको हिमाली राज्य नेपाल आजपनि प्रकृतिको धनी अनुपम सुन्दर भूमि हो। विश्वको अनौठो, बिचित्र र रहस्यमय गन्तव्य हो। सेता सुन्दर हिमाल प्रदुषण लखेट्ने प्राकृतिक पंखा हुन्। ‘हरियो बन नेपालको धन’को औचित्य झन बढेको छ।

अक्सिजनको यो भण्डारण अरु बिस्तार र रक्षा गर्दा मुलुक हराभरा स्वच्छ हावाको स्वस्थ देश कहलाउने छ। आयातीतबाहेक हम्मेसी रोग नलाग्ने र लागेमा आफैं छिटो निको हुने सजीव प्राकृतिक चिकित्सालय हो नेपाल।

जैविक बिविधता लगायत धार्मिक सांस्कृतिक भौगोलिक बिविधताले बातावरणलाई अझ सुन्दर र शोभायमान बनाएको भर्जिन देश। सर्बत्र जैविक बिविधता र सडकमा बाघ, हात्ती गैंडा लगायतका सुन्दर बन्यजन्तुहरु अवलोकन गर्न पाइने अवसरै अवसरको देश । अतिथि देवो भवः मा बिश्वास राख्ने, तातो खुन र पसिनाको खोलो बगाउने इमान्दार र बहादुर जनशक्तिको देश।

बातावरण दिवसको सार्थकता

प्रकृति एवं बातावरणको रक्षा गर्ने काम जनताको हो। जल, जमिन, जंगल, आकाश जनतासामु जनतासँग छ। प्रकृतिको र बातावरणको रक्षा सम्मान कल्याणमा जनता आफै सचेत, सावधान, संयमित भएर उत्रिने हो।

बटम अप् एप्रोचद्वारा टाढा सानो अँधेरो छिडीमा गुप्तबास सरकारलाई बिउँझाउने हो। आँखा कान खोलिदिने हो। र, उसको शक्ति श्रोत साधन बजेट माग र सदुपयोग गरेर स्थानीय प्रकृति एवं बातावरणको नमूना रक्षा र व्यवस्थापन गर्ने हो।

नेपालको सन्दर्भमा ऐतिहासिक संरक्षक नेपाली सेनाले प्रकृति र बातावरण संरक्षणमा तीनै तहको सरकार र प्रकृतिप्रेमी जनतालाई काँध थापेर प्रकृतिको स्वामित्व लिइदिनुपर्दछ। सरकारलाई सचेत र सक्रिय बनाउन दबाव दिनुपर्दछ। लिम्पियाधुरासम्म फैलिएको अपिनाम्पा संरक्षण क्षेत्रको जिम्मेवारी पर्खेर होइन मागेर लिनुपर्दछ। अगाडि देखाउने सशस्त्र प्रहरी र त्यसको ठीकपछाडि मार हान्ने नेपाली सेना हुनुपर्दछ।

भविष्यको विश्व पर्यटन अव सहर केन्द्रित हुने छैन। बरु स्वच्छ सफा हराभरा र स्वस्थ हिमाल पहाड गाउँ केन्द्रित हुने अवश्यम्भावी छ। नेपाल भुटान लगायतका मुलुकहरु नयाँ आकर्षक गन्तव्य हुनेछन्। भावी पर्यटकलाई सहर सभ्यता सम्बृद्धिभन्दा प्राकृतिक सौन्दर्यता, स्वच्छ र सफा वातावरण एवं ईमान्दार र स्वाभिमान प्रकृतिमैत्री जनताको न्यानो स्वागत र मायाँले आकर्षित गर्नेछ।

बर्तमान माहामारी बिश्व नेताहरुको आँखा कान खोल्ने टर्निङ पोइण्ट हुनुपर्दछ। आजकै मितिबाट अनिवार्य सच्चिने सुध्रिने र प्रकृतिको सर्वोच्चता स्वीकार गर्ने बिन्दू हुनुपर्दछ यो दिवस। सम्बृद्धिको नाममा प्रकृति र बातावरणलाई ढा“ट्ने, बिनास गर्ने र ध्वस्त बनाउने कार्य अबिलम्ब रोकिनुपर्दछ। हरेक युद्ध मानव लक्षित होइन प्रकृतिका बिरुद्ध छ। पृथ्वीको बिरुद्ध छ।

तसर्थ आणविक हतियारहरु नष्ट गरिनुपर्दछ। बर्तमान र भावी संभावित युद्ध नगर्ने साझा र सामूहिक संकल्प गरेर सैनिक शक्तिलाई प्रकृति एवं बातावरण संरक्षण र मानवोद्धारजस्तो पवित्र कार्यमा सदुपयोग गरिनुपर्दछ। तबमात्र बिश्व बातावरण दिवस सार्थक र सफल भएको मानिनेछ।

आज लाखौंलाख बृक्षारोपण गर्ने दिन। बृक्षारोपण गर्न र बिरुवा हुर्काएर हरियो बन निर्माण गर्न लकडाउन बरदान। आज छुटे भोलि गरौं। विश्वका लकडाउन सैनिकहरुले बन्दुक होइन दुबै खाली पबित्र हातले करोडौंको संख्यामा बृक्षारोपण गरुन्। शासक होइन प्रकृति र धर्तीमाताको सच्चा सेवा गरुन्। धर्ती सिंगारुन र चम्काउन् । पुण्य कमाउन्। आजको दिवसलाई यसरी सार्थक पारुन्।

(लेखक राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष निर्देशनालयका पूर्व निर्देशक हुन् )।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *