हरित शहर र यसका सपनाहरू

डिसी नेपाल
२३ जेठ २०७७ ९:४२

शहरीकरणको गति यस्तै रहेमा विश्वको शहरी जनसंख्या बढेर सन् २०३० सम्ममा झण्डै ५ अरब पुग्नेछ र २०५० सम्म हरेक तीन जना मध्ये दुई जना शहरमा बसोबास गर्नेछन् । संयुक्त राष्ट्र संघका अनुसार सन् १९७५ सम्म संसारमा ४ वटा मात्र मेगासिटी (एक करोड भन्दा बढी जनसंख्या भएको शहर) थिए भने, आज ३३ पुगेका छन्। यसरी बढेमा आउने दशकमा (सन् २०३०) सम्म १० बढेर ४३ वटा पुग्नेछन्।

यसको मतलव आज हरेक दशजना मध्ये ५ जना शहरमा बस्छन् भने एक दशकभित्रै १० जनामध्ये ७ जना शहरी बासिन्दा हुनेछन् । यसरी शहरी जनसंख्या बढ्दा मानिसहरु मात्र बढ्ने होइन, उसको लागि चाहिने बासस्थानको खोजीको सिलसिलामा नजिकैको प्राकृतिक वनजंगल मासिने गर्छ । यसको सिधा असर शुद्ध पानी, सफा हावा, र प्राकृतिक खानपिनको उपलब्धतामा पर्छ ।

जनघनत्व बढे सँगै स्वस्थ खानेकुरा, शुद्ध पानी, श्वास फेर्ने हावा, बसोबास क्षेत्र आदिमा पर्ने दवाबले प्राकृतिक स्रोतको विनास हुन थाल्छ। बढ्दो शहरीकरण र यसले ल्याउने समस्याहरुमा समयमै ब्यवस्थापन गर्न सकिएन भने प्राकृतिक स्रोतहरुमा पर्ने अधिकदोहन मानव जातिकै लागि प्रत्युत्पादक हुनसक्छ।

मानव जनसंख्या बढ्नु भनेको प्रदुषण पनि बढ्नु हो । शहरी प्रदुषणलाई केही भएपनि घटाउनको लागि संसारभर नै हरित शहरीकरणको परिकल्पना गरिएको छ। शहरको वरपर हरियालीका लागि बोटविरुवा लगाउनु र शहरलाई बस्न योग्य बनाउनु नै हरित शहरिकरणको उदेश्य हो।

बढ्दो शहरीकरणको कारण बनेका ठूला भवनहरुले शहरमा सानो खुला क्षेत्र पाउन पनि कठिन हुन्छ । त्यही सानो क्षेत्रलाई उचित तवरले व्यबस्थापन गर्न मानव उपयोगी वनस्पति प्रजातीको छनौट गर्नुपर्ने हुन्छ। शहरको आवश्यकता एकातिर, बनस्पतिको छनौट अर्कोतिर भएमा संरक्षण सम्भव र उदेश्य पनि प्राप्त हुँदैन।

शहरमा उपलब्ध हुन सक्ने खुला ठाँउको पहिचान गरी सोही प्रकृतिको वनस्पतिलाई हुर्कने मौका दिनु पर्छ। घर नजिकको करेसाबारी, सडककिनारा, नदी किनारा, मठमन्दिरजस्ता धार्मिक स्थलहरु, खेल मैदान, ठूला ठूला होटलहरु, स्कुल, कलेजआदि शहरमा हुन सक्ने संभावित खुला ठाँउहरु हुन्।

नेपाल र हरित शहरीकरण

‘ग्लोबल इन्भारोमेन्ट परफर्मेन्स इन्डेक्स’को गत बर्षको संकरणमा नेपाललाई विश्वका १८० मुलुकमध्ये सबैभन्दा बढी वायु प्रदूषण खराब हुने चौथो ५ स्थानमा राखिएको छ। नेपालभन्दा खराब वायु प्रदूषण भएका देशहरुमा भारत, कंगो, बंगालादेश र बुरुन्डी मात्र पर्छन्। यसको एक नम्बरमा स्विजरल्याण्ड पर्छ भने अन्तिममा बुरुन्डी पर्छ।

मानव जनसंख्या बढ्नु भनेको प्रदुषण पनि बढ्नु हो । शहरी प्रदुषणलाई केही भएपनि घटाउनको लागि संसारभर नै हरित शहरीकरणको परिकल्पना गरिएको छ। शहरको वरपर हरियालीका लागि बोटविरुवा लगाउनु र शहरलाई बस्न योग्य बनाउनु नै हरित शहरिकरणको उद्देश्य हो।

नेपालका शहरहरुमा बढ्दै गएको वायु प्रदुषणको नियन्त्रणको लागि हरित शहरको परिकल्पना साकार पार्नु पर्ने हुन्छ। शहरको सानो कोलाहाल ठाँउमा वनस्पतिको उपयुक्त प्रजाती छानेर रोप्न सकिएमा प्राकृतिक वातावरणको आभास पाइनुको साथै प्रदुषण पनि घटाउन सहयोगी हुन्छ। यसरी शहरमा लगाइने वनस्पतिहरुको मुख्य उद्धेश्य हरियाली कायम गर्नु र तापक्रमसँगै वायु प्रदुषण घटाउनु हो।

यसका अलावा पनि वनस्पतिले चराचुरुङ्गी, किराफट्याङ्ग्रा जस्ता वन्यजन्तुहरुलाई वासस्थान पनि प्रदान गर्छ। यसका लागि शहरिया वनस्पति छनौटमा सामान्यत निम्नपक्षहरु ख्याल गर्नुपर्नेहुन्छ।

पर्याबरणीयजन्य प्रजाति
अहिलेका खुला स्थानहरुमा स्वदेशीभन्दा आयातीत प्रजातिले स्थान पाएका छन् । काठमाडौंमा मसला, जापानिज धुपी, समी, गुलमोहर, असारे फूल, ज्याकाराण्डा, गलैचीजस्ता विदेशी प्रजातिहरु लगाइएका छन्। त्यस्तै तराईमा अशोक र टिक आदि। यी प्रजातिहरु स्थानीय वातावरण सुहाउदो नभएकोले यहाँ भएका स्थानीय जीवजन्तुलाई नराम्रो असर पुर्याउँछ। आयातीत प्रजातिले समस्त पर्यावरणीय चक्रलाई नै असर पारेर स्थानीय वनजन्तु र वनस्पतिलाई नै संकटापन्न अवस्थामा पुर्याएका धेरै उदाहरणहरु संसारमा पाइन्छन्।

वास्तविक अवस्था ज्ञात नभएसम्म यी बिरुवाहरूलाई हटाउदै रैथाने विरुवाहरुले प्रतिस्थापन गर्नुपर्छ। यसका लागि फराकिला ठाउँमा स्थानीय तवरमा उपलब्ध हुने खरी, छतिवन, लौठ सल्लो, धुपी, शिरीष, वरपिपल, काँइयों लगाउन सकिन्छ भने नासपति, आरू, चिउरी, काफल, लप्सी, हलुवाबेत, जामुन, कुसुम रोप्न सके चराचुरुङ्गी र मानिसले पनि फल खान सक्छन्।

सुरक्षित प्रजाति

शहरमा मानव जनघनत्व ज्यादै बढी हुन्छ। एउटा रुख भाँचिदा दशौ मानिसलाई असर पर्न सक्छ। त्यसैले प्रजाति छनोट गर्दा हाँगा नभाँचिने, समान प्रकारले ठाडो बढ्ने, बलियो मूल जरा भएको, कडा प्रजातिका बुट्यान वा रूख प्रजातिको छनोट गर्नु उपयुक्त हुन्छ।

शहरमा छिटो बढ्ने ठूला रुखहरु भन्दा, बाक्लो भएर बढ्ने होचो खालको वनस्पति जस्तै— निलकाँडा, चियापाते, कुटमिरो, धुपीसल्ला हुनुपर्छ । सडक र नदीकिनारामा अलि अग्ला वनस्पति जस्तै नीम, कपुर, सुगन्धकोकिला, खरी, छतिवन, शिरीष, फलेदो, वरपिपल, काँइयों उपयुक्त हुन्छन्।

हरियाली र सुन्दरता बढाउने प्रजाति

शहरी क्षेत्रको सौन्दर्य वृद्धिको लागि बहुवर्षीय र सदाबहार बिरुवालाई प्राथमिकता दिनुपर्दछ। प्रजाति छनोट गर्दा बर्षभरि पात नझर्ने बिरुवा छान्नुपर्दछ। क्यामेलिया, लिली, रवर, पाम, तेजपात, जमानीमान्द्रो, मीठो नीम, चाँप, सल्ला, धुपी, रुखकमल, कपुर, पुवाँले, पैयुं, खन्यूं जातका बोटविरुवा छनौट गर्नुपर्छ।

बिरुवालाई नियमित स्याहार पुर्याउन सकिने ठाँउमा भने अल्पवर्षीय फूल फुल्ने शोभनीय बिरुवालाई पनि रोप्न सकिन्छ । अल्पवर्षीय फूल फुल्ने विरुवाहरु सकेसम्म रैथाने उपयुक्त हुन्छ।

प्रदुषण घटाउने प्रजाति
यातायात साधनहरुको प्रयोग, खाना पकाउने ईन्धन र औद्याेगिक स्थानहरुमा प्रयोग हुने ईन्धनहरुको जलनबाट निस्कने धुवा, धुलो र कार्बन डाइअक्साइडले शहरलाई प्रदूषित पारेको हुन्छ। त्यसैले शहरी क्षेत्रमा वृक्षरोपण गर्दा धूलो र धुवाँ प्रतिरोधी प्रजाति छनोट गर्नु उपयुक्त हुन्छ। बोक्रा खस्रो भएको, धेरै हाँगा भएको र बाक्लो, चहकिलो पात भएका विरूवाहरुले धूलो बढी संकलन गर्न सक्छन्।

सडक र बस्तीको बीचमा तीन तहमा कम्तीमा केही मिटर ओगट्ने गरी साना होचा विरुवहरू रोपेमा धुलोसँगै ध्वनि प्रदुषण पनि ७ गुणासम्म रोक्न सक्ने विभिन्न अध्ययनहरुले देखाएका छन्।

यसका लागि बिलाउने, बैस, उत्तिस, बकाइनो, भीमसेनपाती, जिङ्गो, खस्रु, जामुन, कुटमिरो, मिठो निम, आँखा तरुँवा, सल्ला, सिन्दुरे, चियापाते, चिप्ले, चैते, धँयरी, छतिवन, महुवा, फलेदो, धुपी आदि उपयुक्त प्रजाति हुन्छन्।

सुख्खा ठाँउमा खासगरी वाक्लो पात भएका, पात, जरा वा डाँठमा पानी बढी भएका वनस्पति जस्तै घिउकुमारी, अजम्मरी, गुन्दरगानो, मकरकाँची, उन्यू, पानी अमला आदि रोप्न सकिएमा जमिनको पानी धान्ने क्षमतालाई बृद्धि हुन्छ र माटोलाई ओसिलो र सधै खेती योग्य बनाइराख्छ।

वनस्पतिहरुले वाताबरणबाट अशुद्ध कार्बन डाइअक्साइड हावा धेरै लिएर जीवन उपयोगी अक्सिजन दिने गर्छ। यसले कार्बन उत्सर्जनमा कमी ल्याउछ र यसरी धेरै वनस्पति रोप्न सकिएमा यसले विश्व जलवायु परिवर्तनमा सकारात्मक असर पर्छ र स्थानीयस्तरमा तापक्रम घटाउन पनि सहयोग दिन्छ।

दैनिक उपयोगी प्रजाति

घर आँगन वा आसपासका खाली ठाउहरुमा औषधीय गुणले भरिपूर्ण वोटविरुवाहरु लगाउन सकिन्छ । यसो गर्न सकिएमा यी विरुवा खानेकुरामा समावेश गर्न सकिन्छ र आवश्यकता परेको बेला औषधीको रुपमा सेवन गर्न पनि सकिन्छ ।

घिउकुमारी, तुलसी, बोझो, पुदिना, सिल्टिमुर, पाखनभेद, चमेली, सयपत्री, घोडताप्रे, दुवोजस्ता वनस्पतिहरु मानिसको दैनिक जिवनयापनमा औषधिको रुपमा प्रयोग हुने गर्छन् । यसका अलावा लसुन, प्याज, मेथी, हरिया सागसब्जीहरु करेसाबारीमा लगाँउदा एकातिर दैनिक छाक टार्न सकिन्छ भने अर्कोतिर प्रदुषणलाई नियन्त्रण गर्न पनि सहयोग पुर्याउँछ।

अहिलेको कोरोनाको महामारीले बाहिरबाट तरकारी नल्याई कौशी खेती शुरु हुनु पनि निकै सकारात्मक कुरा हो । यस्ता आनीबानी शुरु गर्न सकिएमा हामी शुद्ध तरकारीको स्वाद चाख्न पाउछौं र सँगै तरकारीबारीमा चाहिने मल निकाल्न भान्छाकोठाबाट निस्कने फोहोरमैलाको पनि उचित व्यबस्थापन हुन्छ।

मौरीपालनका लागि उपयोगी हुने फूल फुल्ने प्रजाति जस्तै लाहुरे फूल, जिनिया, सयपत्री, तुलसी, ओरेगाना, पुदिना, सुप, करविर, घट्टेफूल, घडिफूल आदि छान्न सकिएमा वनस्पतिको परागसेचन बढ्न गई शहर नजिकका कृषिउपजमा अधिक बृद्धि हुने कुरामा शंका छैन । पहेलो र सेतो रंगमा फूल फुल्ने रसिला विरुवाहरु मौरीको लागि उपयुक्त हुन्छन्।

अन्तमा,
हरित शहरको महत्व बुझेर, विश्वका धेरै शहरहरुले बृक्षारोपण शुरु गरिसकेका छन् । जोहन्सबर्ग, भ्याकुभर, बार्सिलोना, लण्डन, अबुधावी, ढाका, चीनका धेरै शहरहरूले कूल क्षेत्रको झण्डै आधा भागमा हरियाली बनाउने चुनौति लिएका छन् । विश्वमा प्रख्यात हरित शहरहरूमा आम्सटर्डम, कोपेनहेगन, ब्रिस्टल, हङकङ आदिको नक्कल गरेर अरु धेरै शहरहरु हरियाली हुँदैछन्।

नेपालमा ढिलै भए पनि आव २०७५—७६ को नीति तथा कार्यक्रमदेखि राष्ट्रिय योजना आयोगले ‘एकीकृत योजनाबद्ध शहरी विकासको मापदण्ड’ मा हरित शहरको अवधारणा अघि सारेको छ। यो बर्षको विश्व वाताबरण दिवसको अवसरमा हामी पनि शहरलाई हरियाली बनाउदै भावी पुस्तालाई स्वच्छ, सफा र समुन्नत जैविक विविधतायुक्त विश्व उपहार दिने प्रण गरौं।

(लेखक त्रिभुवन विश्वविध्यालयका उप-प्राध्यापक हुन्)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *