काला जातिलाई न्याय दिलाउन उत्रिएका प्रदर्शनकारीलाई काला जातिकै ओबामाले के भने ?
एजेन्सी । अमेरिकामा न्यायका लागि प्रदर्शन चर्किरहँदा पूर्वराष्ट्रपति बाराक ओबामाले स्पष्ट रुपमा आफ्नो धारणा राखेका छन् । यसअघि ओबामाले २१ औं शताब्दीमा भएको यो घटना सामान्य हुन नहुने बताएका थिए । अश्वेत नागरिक जर्ज फ्लोएडको पुलिस हिरासतमा मृत्यु भएपछि उनलाई न्याय दिलाउनको लागि अमेरिकामा अहिले प्रदर्शन भइरहेको छ । विरोधको स्वर अमेरिकाबाहिर विभिन्न देशहरुसम्म पनि फैलिइसकेको छ ।
पछिल्लो पटक ओबामाले सडकमा उत्रिनु मात्र पर्याप्त नभएको बताउँदै आगामी नोभेम्बरको चुनावमा सबैलाई अनिवार्य सहभागी हुन समेत आग्रह गरेका छन् । स्मरणीय छ पूर्वराष्ट्रपति ओबामाले आगामी निर्वाचनमा राष्ट्रपति पदको लागि डोनाल्ड ट्रम्प विरुद्ध उभिएका उम्मेदवार जो बिडेनलाई सघाउने घोषणा गरिसकेका छन् । ओबामा स्वयं काला जातिका भएकोले यो आन्दोलनको विषयमा उनको टिप्पणीलाई महत्वपूर्ण मानिएको छ ।
ओबामाले प्रदर्शनकारीहरुलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम लिएनन् तर उनले वर्तमान सरकार र प्रशासनप्रति असन्तुष्टि जाहेर गरे । हालको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै ओबामाले हिंसाजनक गतिविधिप्रति भने असन्तुष्टि व्यक्त गरे । हिंस्रक गतिविधिमा उत्रिएका प्रदर्शनकारीको आलोचना गर्दै ओबामाले शान्तिपूर्ण कार्यक्रमलाई प्रभावकारी कदममा बदलेर उल्लेखनीय सामाजिक परिवर्तन ल्याउन आग्रह गरेका छन् ।
Facebook Comment