इतिहास, संस्कृति र यौनको संगम ‘याङ्सिला’

डिसी नेपाल
२४ जेठ २०७७ ८:१३

याङसिला पहिलोपल्ट पढ्न शुरु गर्दा झण्डै तिलस्मी उपन्यास पढेजस्तो लाग्न थालेको थियो। सत्रौँ बिसौनी याने ३१७ पानाको अन्तिम हरफ पढिसकेर एकछिन घोत्लिएँ। अध्याय वा भागलाई बिसौनी नाम राखेर एकदेखि सत्र बिसौनी छ।

धनकुटा–धरान ओहोर–दोहोर गर्दा पैदलयात्री थकाइ मार्ने स्थानलाई बिसौनी नै भन्दथ्यौँ र यो उपन्यासका प्राय बिसौनीहरु भएपनि बिसौनी थिए बिगतका। त्यस्तै उपन्यासलाई आफूले पढे र पढाएको इतिहासको कसीमा पनि राख्न सकिने निष्कर्ष निकालेँ। झन् उत्साहित र चाख मानेर मनन गर्न फेरि पढेँ दोहोर्याएर।

समालोचनामा नाम कमाएका डा. हरिराज भट्टराईले लेखेको यति लामो उपन्यास पढ्न थालेपछि ब्राह्मणइतरका जातिले बुझ्न नमानी पन्छाउने होइन। बरु, किराँतको किराँती इतिहास, भूगोल, संस्कार र संस्कृति अनि लिम्बुवानको लिम्बू संस्कृति पनि किराँत सरह नै बुझ्नुपर्ने हुन्छ।

किराँती र लिम्बू संस्कृति नबुझेको भए मिहिनरुपमा ध्यान दिएर याङ्सिला पढे धेरै मात्रामा बुझिन्छ। कसैले यो उपन्यासको भाषा क्लिष्ट छ भन्लान्। म भन्छु यो बालकृष्ण समको जस्तो अनेकताभित्र मिठास छ। हो, मलाइ पनि शब्दकोष खोज्नुपर्ने जस्तो आच्छु आच्छु चाहिँ पारेकै हो।

उपत्यकाभित्रका रोमाञ्चकारी उपकथाहरु चाहिँ विश्वेश्वरप्रसाद कोइरालाको ‘सुम्निमा’ को छनकमात्र आउने होइन पूरा किताबभरि नै युवतीहरुले स्वच्छन्दता प्राप्त गरेको भान हुन्छ। भोट यात्रा भन्ने वित्तिकै लक्ष्मीप्रसाद देवकोटाको मुना मदनका नायक मदनको दुःखपूर्ण यात्राले पिरोल्न थाल्दछ। तर, याङ्सिलाका नायकको भोटयात्रा रमणीय हुन्छ।

प्याच्च भन्नुपर्दा पुरुषहरुलाई इष्र्या पनि लाग्न सक्दछ। परदेशीलाई कुरेर बसेका हौं भन्ने दुई दिदी बहिनीको उपकथाले भवानी भिक्षुको ‘त्यो फेरि फर्कला’ को स्मरण नगर्ला भन्दाभन्दै पनि हुँदो रहेछ। कथामा मूल नायक कान्तिपुर राज्यका हुनाले नेवार समुदायका होलान् भनी लख काट्न पाइन्छ।

तर, उनको विस्तृत वर्णन वा जाति खुल्ने अरु वयान उल्लेख छैन। सायद उनी आफ्नो सुकामले परिणामबाटै परिचित हुनुपर्ने व्यक्तित्व होलान्। एक दशकपछि भोटबाट फर्केर आएपछि कान्तिपुरमा उपत्यकाका तीन राज्यको बन्दोवस्तमा राजकीय स्वागतचाहिं नेपाली संस्कारमा हुन्छ नै।

कथाको सुरुवात प्रेम कथाबाट नभए पनि बिसौनी बिसौनीमा कुरकुरे बैंसबाट युवायुवतीको रामाञ्चित मनोमात्र नभई शारीरिक वर्णन पनि छताछुल्ल देखिन्छ। अन्त्यचाहिँ समाजमा प्रेम सफल भई विवाहमा टुङ्गिन्छ। त्यो पनि एउटा पुरुषले दुइटीसँग प्रेम विवाह—भगवानको वरदान अपरम्पार। राजपरिवारको कुरा गर्दा राणाका दुइटीमात्र नभएर चीनमा जस्तै धेरै हुन्थे।

इतिहास त्यही भन्दछ। राजा त्रिभुवनसम्मलाई दुइटी दाँया बायाँ राखेर विवाह गराइदिएका हुन् सर्वसाधारणले। चौँथो शताब्दीमा एकैपल्ट दुइटी विवाह त्यो पनि तिब्बती गुम्बामा कसरी गरे होलान् अललिन्छु। सायद म बाहुनी भएर त्यस्तो लागेको हुनपनि सक्छ।

बाहुनहरु आज पनि कानूनले नसमातेसम्म बहु वा दुवै विवाह गर्ने भएता पनि एकै पल्ट दुइटी विहे गरेको साधारणतया मलाइ थाहा छैन। नेपालको केही भागमा आज पनि दुइटी विवाहको पनि प्रचलन सम्झेर मैले अफ्नो मन मत्थर पारें। यसमा लैंगिक समानता, असमानतातिरकोमा नफसौँ त।

यतिसम्म पढेपछि मेरा पाठक वर्गले बुझ्नुपर्ने हुन्छ। म याङ्सिलाको आफ्नोपन वा शुद्ध मध्य र अन्त्य छु्ट्याएर विश्लेषण गर्ने पक्षमा गइन। अति अराजक तरिकाले झरीको खहरेजस्तो पानीको भल जता बग्ने ठाउँ पाउँछ त्यतै बगेको हुनेछ मेरो लेखाइ। इतिहासको विद्यार्थी भएको नाताले मलाई सबैभन्दा घतलागेको पक्ष हो उपन्यासकारको कथान परिकल्पना।

एउटा पुरुषले दुई नारीलाई विवाहगरी आधा आधा पुरुष एउटी नारीलाई विभाजित भई टुङ्गिन्छ। अन्तमा नेपाली साहित्य जगतको काल्पनिक उपन्यास विधामा याङसिला जस्तो गहन कथानक विषयवस्तु, पात्र स्थान, दृश्य परिदृश्य मैले आजसम्म पढेकी छैन। यसको श्रृगार रस अत्यन्तै नौलो रोचक तिब्बती चिनियाँ समाज त्यति उदार होला भन्ने मैले कल्पना गरेका पनि थिइन

मल्लकालीन वास्तु तथा भवन निर्माण कथा उपत्यकाका तीन राज्यमा मात्र सीमित नभै चीन तिब्बततिरसम्म पुगेको थियो। उपत्यकामा चीनका राजा कुब्लाई खाँ (१२१३–१२९६) ले नेपाली वास्तु कलाकार अरनीकोलाई झिकाई सेतो स्तुपा निर्माण गराएको इतिहासमा छ। जुनस्तरमा लिच्छवीकालदेखि नै तिब्बतसँग आवतजावत भएर राज्यस्तरमा राजा अंशुवर्माले आफ्नी छोरी भृकुटी तिब्बती राजा श्रङ्चङ्ग गम्पोलाई विवाह गराइदिएबाट शुरु भएको हो।

यो नै पहिलो कुटनीतिक सम्बन्ध हो। त्यसबेलादेखि नै तिब्बत चीन आवात जावतको मूल बाटो कान्तिपुरको चारुमति बिहार, शिवपुरी, नुवाकोट, रसुवा, लाङटाङ छिचोल्दै जाँदै थियो।  भारतीय व्यापारीले समेत चारुमति अड्डामा कर तिरेरमात्रै तिब्बत व्यापारको प्रवेशको इजाजत पाउँथे।

याङसिलाको विशेषता तिनै कुब्लाई खाँका नातिराजा टिमूर खाँले निम्त्याइएको नेपाली टोलीलाई पूर्वको कोशी क्षेत्र हुँदै ओलङचुङगोला भएर तिब्बत चीन प्रवेश गराउनु तथा बाटा र बिसौनीहरुका बारेमा दृष्यमय वर्णन अत्यन्तै रोचक हुन्। नेपाली टोली नेता पञ्चश्वर पनि अरनिको कै नाति हुन् की कसलाई थाहा र?

उपन्यासकार डा.भट्टराई आफ्नो लेखकीय संकेत सूत्रको पहिलो हरफमै लेख्नुहुन्छ, यो काल्पनिक कथा म एक पाठकले अरु कल्पना गरी थपघट गर्नु उचित छैन्।
विशेषतै विशेषताले भरिपूर्ण याङसिला उपन्यासका स्थानहरुको वर्णन अत्यन्तै रोचक रहेको छ। स्मरणरहोस् स्थानहरुका नामचाहिँ काल्पनिक नभएर वास्तविक रहेका छन्। तिनको वर्णन गर्नु त साहित्यकारको आफ्नो अधिकार क्षेत्रभित्रको सवाल हो।

कसरी कुन विशेषताले श्रृङ्गार पटार गर्ने स्वतन्त्रता अवश्य पनि लेखकको मानसिक अवस्थाअनुसार हुन्छ। डा. भट्टराईले कान्तिपुरे कालिगढ टोलीलाई कोशी नदीद्वारबाट माझीहरुले बनाएको डुँगाद्वारा तारेर चतरा, बराहक्षेत्र, बुढासुब्बाको दर्शन गराउँदै लेउती गडतिरका किम्बदन्तीअनुसार भीमसेनले छेलो हानेको भीमकाय ढुँगा मैले देखेको मात्र होइन छोएको पनि हुनाले आनन्द लाग्यो। आमाहरु भन्नुहुन्थ्यो त्यो ढुँगालाई अंगालो हाल्दा शक्ति दिन्छ। सायद यही ढुँगालाई डा.भट्टराईले भीमसेनले छरेको ढुँगा भनेका होलान्।

यलम्बरले स्थापित गरेको किराँत राज्य लागेपछि उकालै उकालो चढेर अलिकति सम्म नगरी हिँडेपछिको बिसौनी, गुफापोखरी म पनि सँगसँगै पुग्दछु। गुफा पोखरीको वर्णनमा भन्दा म मिल्के डाँडाको चौँसठठीथरी गुराँसफूल अवलोकन गरी रमाउँछु। गुफापोखरीमा मलाई उतिबेला लागेको डर अझै आङ जिरिङ्ग हुन्छ।

तर, कोशी पहाडी क्षेत्र विकास केन्द्रका वरिष्ठ कृषि सल्लाहकार मेरा श्रीमान अझै धमास दिन छाडेका छैनन्—“म गुफापोखरीमा पाँचपटक वास बस्दै तेह्रथुम–संखुवासभा ओहोर दोहोर गर्दा तिमी डरले बस्न सकिनौँ।”

विभिन्न रङ्का गुराँसका फूलमात्र होइन तिनका जराका खुड्किलाहरु पनि मलाइ अझै कण्ठ छ। मेरो सौभाग्य मोटरबाटो नबन्दा पनि लिम्बुवानको केन्द्र म्याङलुङ बजार पुग्न पाएकाले यो किताबमा वर्णित चुलीहरु आफैँले देखेझैँ लाग्दो रहेछ। म जाँदा लिम्बूहरु बजार बाहिर गाउँहरुमा र नेवारहरु बजारमा थिए।

म्याङ्लुङपछि मैवाखोला थुमहुँदै केही विसौनीपछि आफू पनि गोला पुगेको स्मरण याङ्सिला पढेर ताजा भयो। त्रिपन्न वर्षअगाडि गोलाबाट तिब्बत पुग्न हिँड्ने मान्छेलाई डेढ दिनमात्रै लाग्छ भन्थे। म जान परिस्थितिले नमिलेकोले त्यतिबेला दुख लागेको थियो।

मोटरको बाटो बनेपनि सन् २००३ मा एकपटक म्याङलुङसम्म पुगेँ। तर त्यो पैदल हिँडेकोजस्तो रोमाञ्चित हुँदो रहेनछ यो मन। किन उपन्यासकारले पूर्वतिरको घुमाउरो बाटोबाट कान्तिपुरे कालिगढ डोलीलाई चीन पुर्याए भन्ने मेरो जिज्ञासा अव सकियो। “म किराँत भूमिकै बालक हुँ” भनी लेखकीयको संकेत सुत्रमा प्रस्ट रहेछ। डा.भट्टराईको जन्मथलो ताप्लेजुङ रहेछ।

अर्को विषयमा म प्रस्ट भएँ। शिवरात्री काठमाडौँमै पशुपतिनाथको दर्शन गर्न आउने तीर्थयात्रीसँग यो टोली कोशी नदी वारिसम्म जान्छ। कोशी तरी बुढासुब्बा हानिन्छ। किराँतीहरुको राजधर्म किरांत धर्म थियो र किराँतेश्वरका उपासक किराँती शिवका भक्त हुन् भनेर बुढा सुब्बाको एकजना ज्ञाता विद्धान्ले भनेको स्मरण भयो मलाइ।

बिसौनी वर्णनका साथै व्यक्ति परिचयको विषय आउँछ। यसका टोली नेता पञ्चश्वर निष्ठावान, आध्यात्मिक, धार्मिक अन्य जातिको संस्कृति, संस्कारका प्रशंसक लाग्दछन्। तापनि बाटामा हाट बजार मेलामा भेट्टिएका वा टुंगोमा पुगेपछि पनि युवतीहरु सँगको मौलिक ठट्टा रमाइलोमात्र गर्दैनन्। पढ्दा पढ्दै मलाइ असामान्य र असहजता लाग्ने दृश्यहरु छन् । तापनि उनको असल कामले होला सायद विवादमा नपरेका हुन्। अन्तमा एकैपटक दुईवटा बिहे गरी नेपाल सँगै लिएर आउँछन्।

यो टोलीको दोस्रो महत्वपूर्ण व्यक्ति मन्मथ हुन्छन् र पाँच वर्षका उमेरमा दुई दिन हराई तेस्रो दिनमा घर फर्कन्छन् । तर उनको वाणी हराउँछ। त्यसकारण उनलाई मौनी नाम दिइन्छ। उनी लेखन, कला र सांकेतिक भाषामा पोख्त बन्दछन्।

कल्पना गरौँ चौधौं शताब्दीमा नेपालमा सांकेतिक भाषाको प्रयोग साह्रै प्रगतिशील हो। मानौ तीनै देशका भेटेजति व्यक्तिहरुको विवेकशील मित्र बन्छन् र सबैको प्रीय पात्र हुन्छन्। टोलीका अन्य सदस्यको खास उल्लेख्य भूमिका टिपोट गर्नुपर्ने देखिँदैन।

किँरात राज्यका एक बिसौनीका दिदी बहिनी सानफाङ र तीजहाङ गरिबीका कारण विवाह हुन नपाई आमा बाबु पाली बस्नुपरेको उपकथा आज पनि चरितार्थ हुन्छ। सायद यो किँराती राज्यको मात्र समस्या होइन। वास्तवमा विवाह नगरी बस्नुलाई म समस्या पनि मान्दिन।

जुनै जातका महिला वा पुरुष इच्छाले विवाह नगरी बस्ने पनि भेटिन्छन्। तर यी दुईको चाहिँ गरिबीकै कारणले नभएकोमा नै विश्वस गर्छु। यिनको नामसँग जोडिएको स्थानचाहि युवा वर्गका लागि रोमाञ्चकारी रहेछ आज पनि । यो खुशीको कुरा हो।

नेपाली ओलाङचुङगोलाबाट तिब्बत छिरेपछि नेपाली टोलीको स्वागत सत्कार रेखदेखमा खटिएका निकै पात्रहरु छन्। तापनि याङसिला र मेलम्ची दुई महिला प्रमुख हुन्छन्। अन्त्यसम्ममा याङसिलाकी आमाचाहिँ नेपाली नै हुन्छिन्, किँराती कन्या। केही खलनायक पात्रहरु पनि देखिएका छन्।

यो उपन्यासको विशेषताको अर्को पक्ष हो तत्कालीन किराँत र लिम्बुवान संस्कृति, चालचलन, रीति–रिवाज, हाटबजार मेला आदिको वर्णन। यी टोली हिँड्दै गर्दा बास बिसौनीमा रात बिताएको ठाउँमा प्रष्टिदै जाँन्छन्। हाटबजार सबै जातिको साझा प्रचलन रहँदै आएको छ भने तन्नेरी तरुनीको ठट्टा रमाइलो त्यतिबेला निश्चितरुपमा किराँति लिम्बू संस्कृति हो।

क्षत्रिनी बाहुनीले त्यो स्वतन्त्रता लिन सकेनन्। तिब्बत पुग्दा तिब्बती चालचलन र रीतिरिवाजले नेपाली टोलीको स्वागत र रेखदेख हुन्छ। चाखलाग्दो चलनचाहि तातो जलकुण्डमा आनन्द लिन लागे पनि पत्याउन गाह्रोचाहि दुई युवतीले ओछ्यान तताई वीर पुरुषलाई सुताउने लाग्यो। तातो पानी कुण्डमा त म पनि मुक्तिनाथ दर्शनबाट फर्कदा आनन्द लिएकी थिएँ। आकाशमा जुन र तारा मुनि।

नेपाली कलाकारको सुनाम र तीनले निर्माण गरेका कलापूर्ण स्तुपा चैत्यहरुको महत्व तिब्बतमा नेपाली राजा अंशुवर्माकी छोरी भृकुटीलाई तिब्बती राजा श्रङचङ गम्पोले विवाह गरी भित्र्याए देखि नै बढेको हो। यो प्राचीनकालको सुनामले गर्दा होला सायद मध्यकालमा अरनिकोलाई निम्त्याइएको। अरनिकोले फेरि अर्को इतिहास रहे।

याङसिलामा कलापूर्ण निर्माणका दृष्टिकोणले नेपालीको तिब्बत चीनमा राम्रो रोजगारी इज्जतिलो सथन स्थापित रहेको छ । यो गौरवको कुरा हो । तर, व्यक्ति व्यक्ति स्तरको व्यवहारमा तिब्बत चिनियाँ नव यौवनाहरुको त्यत्रो ठूलो भूमिका बनाई दिएकोमा कति हदसम्म कस्तो प्रगतिशील समाज भन्न सकुँला अन्यमनस्कमा पर्दछु।

जे भएता पनि टिमुर खा“ले भनेजस्तै राजप्रासाद निर्माण नेपाली टोलीकै गरिदिन्छन्। उनी खुशी पनि हुन्छन्। जनता र शासक व्यक्तिगत स्वार्थका लागि प्रदर्शित हुन्छ किन्तु जनताको राष्ट्रप्रेम माटो, जीवन, संस्कृतिको अर्कोपन अनि स्वतन्त्रता र अधिकारका लागि मुखारित हुन्छ। मेलम्ची पनि आफ्नो विचार थप्छिन्, राजनीतिको अर्को नाम षड्यन्त्र दमन, शोषण र बदला पनि हो र पापाचार पनि हो।

मेलम्ची र याङसिलाका मानसिक अन्तरद्वन्द्व पनि प्रकट हुन्छन्। आफूले सुनेका झझल्कोमा याङसिला घोत्लिन थाल्छिन्। दरवार भनेको रानी संग्राहलय हो। सौता—सौता भएपछि पनि यी दुई महिला सौहार्दतापूर्वक खुलेर छलफल गर्छन् । जिमु नामकी अर्की महिला देखा पर्दछिन् कथामा।

यी तिनै महिला साक्षर चिनियाँ, किराँती, तिब्बती लिपीहरुका समेत ज्ञाता र राजनैतिक सचेतना भएका हुन्छन्। उनीहरुको सल्लाहलाई राजादेखि लिएर अन्य पुरुषहरुले पनि मानेको देखिन्छ। हुँदा हुँदा समलिङ्गीलाई पनि स्थान दिएर यो उपन्यास सृजना भएको छ।

त्यस्तै रसिक टिप्पणी उल्लेख छन्। यदि स्वच्छ रहनु छ र बढी आयु बाँच्नु छ भने आफूभन्दा सानो उमेरका युवतीसँग खेल। ती शरीर र मनको असल औषधी हुन् । पुरुषका लागि भने महिलाका लागि सिगमण्ड फ्राइडले भन्न नसकेको भनिएको छ, “एउटी केटीलाई एउटा पुरुषको भोग शक्तिले कहिल्यै तृप्त र पूर्ण पार्न सक्दैन । एउटी नारीका लागि न्युनतम दुई पुरुष शक्ति चाहिन्छ परितृप्तिका लागि।”

अन्ततः एउटा पुरुषले दुई नारीलाई विवाहगरी आधा आधा पुरुष एउटी नारीलाई विभाजित भई टुङ्गिन्छ। अन्तमा नेपाली साहित्य जगतको काल्पनिक उपन्यास विधामा याङसिला जस्तो गहन कथानक विषयवस्तु, पात्र स्थान, दृश्य परिदृश्य मैले आजसम्म पढेकी छैन। यसको श्रृगार रस अत्यन्तै नौलो र रोचक छ । तिब्बती चिनियाँ समाज त्यति उदार होला भन्ने मैले कल्पना गरेका पनि थिइन । पछि युद्धमा तिब्बतीलाई नेपालीले दुईपटक हराउँछन् चिनियाँ सहयोगले काम गर्दैन।

यो उपन्यास पढेर मलाई एउटा प्रश्नले पिरोलिरहेको छ । हाम्रा नेपाली रगत परेका केही व्यक्तिहरु उता होलान् नागरिकता नपाएर वा नेपाली बाबुको ठेगान नलागेर अलपत्र परेका।

युद्धको कुरा बिर्सेर तीन देशबीचको त्यस्तो घनिष्ट सम्बन्धमा कसरी चिसोपन आयो? कहिलेदेखि आयो ? चीनले तिब्बत लिएर कि ? तिब्बतीलाई नेपालले शरण दिएर कि? चीनमा कम्युनिष्ट आएर कि ? भाषाकै कारण हो कि ? प्रश्नै प्रश्नको बीचमा आजको सम्बन्ध झन विग्रदो छ । सात शताब्दि अगाडिको नेपाल चीन सम्बन्ध सम्झेर मलाइ आनन्द लाग्यो।

याङसिला जनस्तरमा पुग्न सक्ने मुना मदन होइन । बरु अंग्रेजी, चिनियाँ, तिब्बती भाषामा अनुवाद भए यस्का पाठक बढ्नेछन् । भन्ने गरिन्छ हलिउडको आँखा परे राम्रो सिनेमा बन्न सक्छ शुभकामना।

(डा.पोख्रेल पूर्वमन्त्री हुन् )




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *